एडिलेड, अस्ट्रेलिया। नेपाली गीत, गजल, भजन र शास्त्रीय संगीतको संगमसहित एडिलेडमा ‘राज सागर–महफिल साँझ’ सम्पन्न भएको छ। सांगीतिक समूह भूपालीको आयोजनामा सेप्टेम्बर २५ मा सालिसबरीस्थित सेन्ट जोन्स एङ्ग्लिकन चर्चको अडिटोरियममा आयोजित कार्यक्रममा करिब १२० संगीतप्रेमी सहभागी भएका थिए।
कार्यक्रमको मुख्य आकर्षण नेपालबाट आएका गायक राज सागरको प्रस्तुति थियो। उनलाई भूपालीका यूनिस बस्नेत (तबला), मौसम राई (गितार), लक्ष्मण गुरुङ (किबोर्ड) र जोन रशिन सिंह (बाँसुरी)ले प्रत्यक्ष वाद्यवादनमा साथ दिएका थिए।
सन् २०२२ मा यूनिस बस्नेत , लक्ष्मण गुरुङ र मौसम राईले स्थापना गरेको भूपालीको यो पहिलो औपचारिक सांगीतिक कार्यक्रम हो। नेपाली भाषा, कला, संस्कृति र संगीतको संरक्षण गर्दै त्यसलाई नयाँ पुस्तासम्म पुर्याउनु समूहको प्रमुख उद्देश्य रहेको छ।
कार्यक्रममा नारायण गोपाल, मेहदी हसन, गुलाम अली, भक्तराज आचार्य, गोपाल योञ्जन, दीपक श्रेष्ठ र जगजित सिंहलगायतका चर्चित स्रष्टा तथा गायकका कालजयी गीत, गजल र भजन प्रस्तुत गरिएको थियो।





तस्बिर सौजन्य: भूपाली फेसबुक पेज
प्रकाश धमलाले सञ्चालन गरेको कार्यक्रममा समिरा बस्नेत र अर्चिता पोखरेलको स्वागत नृत्यसँगै आरोहण धमलाको पियानो, जोन रशिन सिंहको बाँसुरी र भागवत न्यौपानेको गायन प्रस्तुति रहेको थियो।
कार्यक्रमको टाइटल स्पोन्सर एसए डिसेबिलिटी केयर तथा प्लाटिनम स्पोन्सर केन्टफोर्ड इन्स्टिच्युट र केयर वेल लिभ वेल रहेका थिए। विभिन्न व्यवसाय, संघसंस्था तथा समुदायका सदस्यले समेत कार्यक्रमलाई सहयोग गरेका थिए।
कार्यक्रमलाई स्कुल अफ भुटानिज नेपाली ल्याङ्ग्वेज एन्ड कल्चर र एडिलेडमा नेपालीले सहयोग गरेका थिए भने फ्रेम बाई अनुप फोटोग्राफी पार्टनरका रूपमा रहेको थियो।

प्रतिक्रिया