गायिका रचना रिमाल स्नातक उत्तीर्ण, संगीत र राजनीतिशास्त्रमा चारवर्षे अध्ययन पूरा

गायिका रचना रिमाल स्नातक उत्तीर्ण, संगीत र राजनीतिशास्त्रमा चारवर्षे अध्ययन पूरा


काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चर्चित एवं स्थापित गायिकाका रूपमा चिनिएकी रचना रिमालले स्नातक तह (बीए) उत्तीर्ण गरेकी छन्। रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत रिमालले संगीत र राजनीतिशास्त्र विषयमा चारवर्षे स्नातक अध्ययन पूरा गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी हुन्।

स्नातक चौथो वर्षको परीक्षाफल सार्वजनिक हुँदा प्राविधिक त्रुटिका कारण आफ्नो र सँगै अध्ययनरत अन्य विद्यार्थीको केही विषयमा ‘अनुपस्थित’ देखिएको रिमालले उल्लेख गरेकी छन्। उक्त त्रुटि सच्याइएपछि सार्वजनिक अन्तिम नतिजामा आफू सबै विषयमा उत्तीर्ण भएको उनले जनाएकी छन्।

‘आज मैले संगीत र राजनीतिशास्त्रमा स्नातक तहका चारै वर्ष सफलतापूर्वक उत्तीर्ण गरेकी छु,’ रिमालले सामाजिक सञ्जालमा लेखेकी छन्।

तस्बिर : रचना रिमालको फेसबुक

संगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदा पनि पढाइलाई बीचमै नछोड्ने अठोट गरेको उल्लेख गर्दै उनले व्यस्तताका बाबजुद स्नातक अध्ययन पूरा गर्न सफल भएको बताएकी छन्। यो उपलब्धिलाई उनले सपना र जिम्मेवारीलाई सँगसँगै अघि बढाउन सकिने विश्वासको परिणामका रूपमा लिएकी छन्।

रिमालले अध्ययनका क्रममा ज्ञान, मार्गदर्शन र हौसला प्रदान गर्ने रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षक, सहपाठी, परिवार तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेकी छन्।

स्नातकसँगै आफ्नो शैक्षिक यात्रा नटुङ्गिएको उल्लेख गर्दै रिमालले संगीतकर्मसँगै आगामी दिनमा पनि अध्ययनलाई निरन्तरता दिने बताएकी छन्।