सिड्नी, अष्ट्रेलिया ।
दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलियाले समुदाय स्वास्थ्य, कल्याण तथा सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । ग्रान्भिल टाउन हलमा समुदाय स्वास्थ्य, कल्याण तथा सामाजिक सचेतनासम्बन्धी विशेष कार्यक्रम गरिएको छ ।
नेपाली समुदायमा खुला रूपमा कम छलफल हुने तर व्यक्ति, परिवार र समाजको दैनिकीसँग प्रत्यक्ष सम्बन्धित विषयहरूलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य दिँदै दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलियाकी निर्देशक डा। झरना भट्टराईले सन् २०१२ मा मेलबर्नबाट सुरु भएको संस्थाको यात्रा, महिला सशक्तीकरण, स्वास्थ्य, मानसिक स्वास्थ्य, लैङ्गिक हिंसा रोकथाम तथा समुदायको बदलिँदो आवश्यकतालाई सम्बोधन गर्न संस्थाले गर्दै आएको कार्यबारे प्रकाश पारेकी थिइन् । उनले समुदायको आवश्यकता अनुसार नयाँ कार्यक्रम, साझेदारी र अवसरहरू सिर्जना गर्दै महिला, परिवार र समुदायलाई सहयोग, सम्बन्ध, ज्ञान र अपनत्वको भावना प्रदान गर्ने संस्थाको प्रतिबद्धता जनाएकी थिइन् । मेलबर्नस्थित एक सदस्यको घरबाट सुरु भएको नेटवर्क आज महिला, परिवार र समुदायलाई सहयोग गर्ने सशक्त सञ्जालको रूपमा स्थापित भएको बताइन् । सामाजिक न्याय, मानवअधिकार र लैङ्गिक समानताका मूल्यहरूमा आधारित संस्थाले विगत एक दशकभन्दा बढी समयदेखि लैङ्गिक हिंसा रोकथाम, महिला स्वास्थ्य, मानसिक स्वास्थ्य तथा समग्र कल्याणका क्षेत्रमा काम गर्दै आएको उनको भनँई थियो ।
संस्थाकी अध्यक्ष रोशनी श्रेष्ठ, संस्थापक अध्यक्ष डा। जमुना पराजुली तथा मेलबर्नस्थित समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई निरन्तर सहयोग र समर्थनका लागि विशेष धन्यवाद पनि दिइन् । नेटवर्ककी न्यूसाउथवेल्स टिम लिडर प्रतीज्ञा अधिकारीले नेपाली समुदायको सामूहिक जिम्मेवारी र आपसी सहयोगको महत्वबारे बोल्दै धेरै नेपालीहरूले नेपालमा रहेको परिवार, आफन्त र सामाजिक सहयोग प्रणाली छोडेर अष्ट्रेलियामा नयाँ जीवन सुरु गरेपछि अभिभावकत्व, किशोरकिशोरीका चुनौती, सम्बन्धका कठिनाइ, एक्लोपन तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित विषयहरू एक्लै सामना गर्नुपर्ने अवस्था रहेको बताइन् । उनले अष्ट्रेलियामा विभिन्न सेवा र स्रोतहरू उपलब्ध भए पनि ती सेवासम्म कसरी पुग्ने, कहाँ जाने, कसलाई सम्पर्क गर्ने र मद्दत माग्दा के हुन्छ भन्ने जानकारी समुदायसम्म पुग्नु उत्तिकै आवश्यक रहेको धारणा राखेकी थियन् । समुदाय भनेको एउटै ठाउँमा धेरै मानिस बस्नु मात्र नभई आवश्यक पर्दा एकअर्कालाई सम्झने, सुन्ने, साथ दिने र सही सेवासम्म जोड्ने सम्बन्ध भएको उल्लेख गर्दै उहाँले “हजुर एक्लै हुनुहुन्न” भन्ने सन्देश समुदायमा स्थापित गर्नुपर्ने आवश्यकता दर्शाएकी थिइन् । कार्यक्रममा उपस्थित अतिथिहरूले पनि समुदायको स्वास्थ्य, सुरक्षित परिवार, सामाजिक एकता र सेवासम्म पहुँचका विषयमा आफ्ना विचार राखेका थिए ।

ग्रान्भिलकी राज्य सांसद जुलिया फिनले समुदायको स्वास्थ्य, कल्याण र सामाजिक एकताको प्रवर्द्धनमा नेटवर्कले खेलिरहेको भूमिकाको प्रशंसा गर्दै आवश्यक पर्दा उपलब्ध सेवाहरूको उपयोग गर्न र सहयोग खोज्न समुदायलाई प्रोत्साहित गरिन् । काउन्सिलर ग्लेन एलमोरले बहुसांस्कृतिक समुदायको सशक्तीकरणमा स्थानीय सरकार र समुदायबीचको सहकार्यको महत्वबारे चर्चा गरिन् । ग्रेटर सिड्नी नेप्लीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष, बिष्णु हमालले नेपाली समुदायको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई बलियो बनाउने यस्ता कार्यक्रमहरूको निरन्तरतामा जोड दिएका थिए ।

एन्जाका अध्यक्ष कृष्ण तिवारीले सही सूचना, सञ्चार र समुदाय सचेतनाको महत्वबारे आफ्नो धारणा राखेका थिए । एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष निजन चौलागाईंले नेपाली समुदायका लागि महत्वपूर्ण र समयसान्दर्भिक विषयहरूमा केन्द्रित यस्तो कार्यशाला आयोजना गरेकोमा दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलियाको प्रशंसा गरेका थिए । उनले स्वास्थ्य, मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध, आर्थिक सशक्तीकरण तथा समुदाय कल्याणजस्ता विषयहरूमा खुला छलफलले समुदायमा सचेतना, जानकारी र सहयोगको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
कार्यशालाबाट प्राप्त सुझाव र निष्कर्षका आधारमा दिदीबहिनी विमेन्स नेटवर्कले आगामी वर्षभरि समुदायमुखी कार्यक्रम तथा पहलहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। औपचारिक कार्यक्रमपछि सांस्कृतिक प्रस्तुति पनि आयोजना गरिएको थियो।


प्रतिक्रिया