एडिलेड । साताभर अस्ट्रेलियाली विद्यालयमा अंग्रेजीमा पढ्ने बालबालिकाका लागि सप्ताहन्तको केही घण्टा फरक हुन्छ। कक्षाकोठामा नेपाली अक्षर लेखिन्छन्, नेपाली शब्द उच्चारण गरिन्छन्। कतै गीतको धुनमा नृत्यको अभ्यास चलिरहेको हुन्छ, कतै मादलको ताल सुनिन्छ। मैदानमा कोही क्रिकेट त कोही फुटबलमा रमाइरहेका हुन्छन्।
यी गतिविधिको केन्द्रमा एउटा साझा उद्देश्य छ—अस्ट्रेलियामा हुर्किरहेको नेपाली मूलको नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र जरासँग जोडिराख्ने।
दक्षिण अस्ट्रेलियामा नेपाली समुदाय विस्तार हुँदै जाँदा घरमा आमाबुबाले बोल्ने नेपाली भाषा नयाँ पुस्तासम्म कसरी पुर्याउने र यहाँ हुर्किएका बालबालिकालाई नेपालका कला, संस्कृति तथा परम्परासँग कसरी परिचित गराउने भन्ने चासो पनि बढ्यो। यही आवश्यकताबीच एडिलेडमा सामुदायिक नेपाली विद्यालयको यात्रा अघि बढ्यो।
सानो प्रयासबाट १३० भन्दा बढी विद्यार्थीसम्म
एडिलेड नेपाली समाजअन्तर्गत सञ्चालित एडिलेड नेपाली विद्यालयले अहिले एक दशकको यात्रा पूरा गरिसकेको छ। विद्यालयका अनुसार हाल ५ देखि १२ वर्ष उमेर समूहका १३० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने शैक्षिक, सांस्कृतिक तथा अतिरिक्त गतिविधिमा ३० भन्दा बढी स्वयंसेवक सक्रिय छन्।
एडिलेड नेपाली समाजका अध्यक्ष बालगोपाल उपाध्यायले विद्यालयको निरन्तर सञ्चालन र विकासमा स्वयंसेवक, अभिभावक तथा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताए। विद्यालयका लागि अहोरात्र खटिने स्वयंसेवकहरूको योगदानको प्रशंसा गर्दै उनले विद्यालयप्रति निरन्तर साथ, सहयोग र विश्वासका लागि सम्पूर्ण अभिभावक तथा विद्यार्थीप्रति धन्यवाद व्यक्त गरे।
उनले अस्ट्रेलियामा हुर्किरहेको दोस्रो पुस्तालाई नेपाली भाषा सिकाउनुका साथै नेपाली कला, संस्कृति, परम्परा र मौलिक पहिचानसँग जोड्न विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। नयाँ पुस्तासम्म नेपाली भाषा र संस्कृतिको पुस्तान्तरण गर्ने यस अभियानमा एडिलेड नेपाली समाजले विद्यालयलाई निरन्तर सहयोग गर्नुका साथै अभिभावकीय भूमिका निर्वाह गर्दै जाने उपाध्यायले बताए।
एडिलेड नेपाली विद्यालयको औपचारिक यात्रा सन् २०१५ बाट सुरु भए पनि यसको परिकल्पना र प्रारम्भिक तयारी भने सन् २०१४ मै सुरु भएको थियो। विद्यालय स्थापनाको प्रारम्भिक चरणमा मञ्जु खड्काले नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन्। सन् २०१५ मा विद्यालय सञ्चालनमा आएपछि उनले प्रधानाध्यापकका रूपमा जिम्मेवारी सम्हालिन्। प्रारम्भिक चरणमा विद्यालयको नेतृत्व गरेकी खड्का अहिले पनि विद्यालयमा स्वयंसेवकका रूपमा निरन्तर योगदान दिइरहेकी छन्।
विद्यालय हाल पार्क होमस्थित एस्कट पार्क प्राइमरी स्कुलमा सञ्चालन भइरहेको छ। हरेक शनिबार बिहान १० बजेदेखि दिउँसो १२ः३० बजेसम्म नियमित नेपाली भाषा कक्षा सञ्चालन हुन्छ। विद्यालयको दिन नेपाल र अस्ट्रेलियाको राष्ट्रिय गानबाट सुरु हुन्छ।
कम्युनिटी ल्याङ्ग्वेज स्कुल्स एसए (सीएलएसएसए) को अभिलेखमा पनि एडिलेड नेपाली विद्यालय पार्क होममा सञ्चालित नेपाली सामुदायिक भाषा विद्यालयका रूपमा सूचीकृत छ। उक्त विवरणअनुसार विद्यालयमा रिसेप्सनदेखि कक्षा ७ सम्म नेपाली भाषा अध्यापन हुन्छ। विद्यालयमा नेपाली पढ्ने, लेख्ने, बोल्ने र बुझ्ने सीप विकासमा जोड दिइन्छ। तर यसको सिकाइ कक्षाकोठा र पाठ्यपुस्तकमा मात्रै सीमित छैन।








तस्बिर सौजन्य : एडिलेड नेपाली विद्यालयको फेसबुक पेज
अक्षरसँगै मादलको ताल
नियमित भाषा कक्षासँगै विद्यालयले नृत्य, संगीत तथा सिर्जनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ। बालबालिकाका लागि क्रिकेट र फुटबल प्रशिक्षणसमेत सञ्चालन हुन्छ।
विद्यालयका स्वयंसेवक शिव काफ्ले र विकास पोखरेलले बालबालिकालाई नेपाली मौलिक बाजा मादलसँग परिचित गराउँदै बजाउन सिकाउने गरेका छन्। उनीहरूको सहजीकरणमा समय–समयमा भजन–कीर्तनसमेत हुने गरेको छ। यसले नेपालबाट टाढा हुर्किरहेका बालबालिकालाई नेपाली संगीत, मौलिक बाजा र सांस्कृतिक अभ्याससँग प्रत्यक्ष रूपमा जोडिने अवसर दिएको छ।
विद्यालयमा सिकेका नृत्य, संगीत तथा अन्य सांस्कृतिक प्रतिभा विद्यार्थीले एडिलेड नेपाली समाज तथा बृहत् नेपाली समुदायले आयोजना गर्ने विभिन्न कार्यक्रममा प्रस्तुत गर्दै आएका छन्। यसरी कक्षाकोठामा सिकेको कला र संस्कृति समुदायका मञ्चसम्म पुगिरहेको छ।


तस्बिर सौजन्य : एडिलेड नेपाली विद्यालयको फेसबुक पेज
विद्यालयको वर्तमान नेतृत्व प्रधानाध्यापक हिमाल कँडेल, उपप्रधानाध्यापक रामप्रसाद सिम्खडा र प्रशासक अलिजा ढकालले सम्हालिरहेका छन्। प्रधानाध्यापक कँडेलका अनुसार विद्यार्थीलाई नियमित रूपमा कक्षामा सहभागी हुन प्रोत्साहित गर्न विद्यालयले सञ्चालन गर्दै आएका विभिन्न अतिरिक्त गतिविधिले सकारात्मक भूमिका खेलेका छन्। भाषा कक्षासँगै बालबालिकाको रुचिअनुसारका गतिविधि समेटिँदा उनीहरूको विद्यालयप्रतिको सहभागिता र आकर्षण बढाउन सहयोग पुगेको उनले बताए।
विद्यालयको दैनिक शैक्षिक तथा प्रशासनिक सञ्चालन विद्यालय नेतृत्व, शिक्षक र स्वयंसेवकले गर्दै आएका छन्। यसको संस्थागत संरचना एडिलेड नेपाली समाजअन्तर्गत छ भने रणनीतिक निगरानी, वित्तीय व्यवस्थापन, जोखिम व्यवस्थापन, बाल सुरक्षा तथा संस्थागत सहयोगमा समाजको भूमिका रहँदै आएको छ।
सन् २००८ देखि नेपाली पाठशालाको यात्रा
एडिलेडमा नेपाली भाषा र संस्कृति पुस्तान्तरणको अर्को महत्वपूर्ण प्रयास नेपाली पाठशाला इन्कर्पोरेटेडमार्फत हुँदै आएको छ। सन् २००८ मा स्थापना भएको यो गैरनाफामूलक सामुदायिक संस्थाले नेपाली पाठशाला एथ्निक स्कुल सञ्चालन गर्दै आएको छ।
नेपाली पाठशालाको स्थापनामा संस्थापक डा. सुनिल शर्माले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए भने प्रमोद अर्यालले संस्थापक प्रधानाध्यापकका रूपमा विद्यालयको शैक्षिक नेतृत्व सम्हालेका थिए। उनीहरूको पहलबाट सुरु भएको पाठशालाको यात्रा समयक्रमसँगै विस्तार हुँदै आएको छ।
नेपाली पाठशालाका अध्यक्ष देवेन्द्र खरेलका अनुसार, पाठशालामा हाल करिब १०० विद्यार्थी अध्ययनरत छन् र ५ देखि १४ वर्ष उमेर समूहका बालबालिका भर्ना हुन सक्छन्। पाठशालामा एडिलेडको पूर्वी, पश्चिमी र उत्तरी क्षेत्रलगायत विभिन्न स्थानबाट बालबालिका अध्ययनका लागि आउने गरेका छन्।
स्वयंसेवकको सक्रियतामा सञ्चालन हुने विद्यालयले नेपाली भाषा शिक्षासँगै संगीत, नृत्य तथा सांस्कृतिक गतिविधिलाई पनि सिकाइसँग जोड्दै आएको छ।
विद्यालय हाल प्याराडाइजस्थित चार्ल्स क्याम्पबेल कलेजमा सञ्चालन भइरहेको छ। विभिन्न समयमा फरक स्थानबाट सञ्चालन हुँदै आएको पाठशाला यसअघि होल्डेन हिल कम्युनिटी हलमा थियो। सन् २०२५ को तेस्रो टर्मदेखि विद्यालय चार्ल्स क्याम्पबेल कलेजमा सरेको हो। नयाँ स्थानमा नियमित भाषा कक्षासँगै नृत्यलगायत अतिरिक्त गतिविधिका लागि पनि थप स्थान उपलब्ध भएको छ।
नेपाली पाठशाला इन्कर्पोरेटेडको गतिविधि भाषा विद्यालय सञ्चालनमा मात्रै सीमित छैन। संस्थाले नेपाली पाठशाला स्पोर्ट्स क्लब, नेपाली पाठशाला भजन कीर्तन र ज्ञानगुन चौतारीसमेत सञ्चालन गर्दै आएको छ।
अध्यक्ष खरेलका अनुसार नेपाली पाठशालाको उद्देश्य बालबालिकालाई नेपाली भाषा सिकाउने दायरामा मात्र सीमित छैन। भाषा, संस्कृति, खेलकुद, धार्मिक–सांस्कृतिक तथा सामाजिक गतिविधिलाई समेट्दै संस्थाले दक्षिण अस्ट्रेलियामा रहेका नेपालीका लागि साझा सामुदायिक थलोका रूपमा विकास हुने प्रयास गरिरहेको छ।
सन् २००८ मा सुरु भएको यो यात्रा त्यसैले भाषा विद्यालयबाट विस्तार हुँदै विभिन्न उमेर, पुस्ता र रुचिका नेपाली समुदायलाई जोड्ने गतिविधिसम्म पुगेको छ।






तस्बिर सौजन्य : नेपाली पाठशालाको फेसबुक पेज
दुई विद्यालय, २३० भन्दा बढी बालबालिका
पार्क होमको एडिलेड नेपाली विद्यालय र प्याराडाइजको नेपाली पाठशालाको स्थापना, संस्थागत संरचना र यात्रा फरक छन्। तर दुवै विद्यालयमा गरी अहिले २३० भन्दा बढी बालबालिका नेपाली भाषा तथा सांस्कृतिक गतिविधिसँग जोडिएका छन्।
अस्ट्रेलियामा जन्मिएका वा सानै उमेरमा यहाँ आएका बालबालिकाका लागि नेपाली भाषा सिकाइको अर्थ अक्षर पढ्न र लेख्न सक्नुमा मात्रै सीमित छैन। यसले नेपालमा रहेका हजुरबा–हजुरआमा र आफन्तसँग संवाद गर्न, घरमा बोलिने भाषा बुझ्न तथा नेपाली चाडपर्व, कला र परम्परासँग परिचित हुन सहयोग गर्छ।
अर्कोतर्फ उनीहरू अस्ट्रेलियाकै विद्यालयमा पढिरहेका छन् र यहीँको बहुसांस्कृतिक समाजमा हुर्किरहेका छन्। यस्तो परिवेशमा सप्ताहन्तमा सञ्चालन हुने यी सामुदायिक विद्यालयले परिवारबाट आएको भाषा, कला, संस्कृति र मौलिक पहिचान नयाँ पुस्तासम्म पुर्याउने सेतुको काम गरिरहेका छन्।
पार्क होममा नेपाली अक्षर लेखिरहेका बालबालिका हुन् वा प्याराडाइजमा नेपाली भाषा सिकिरहेका विद्यार्थी—एडिलेडमा एउटा भाषा पुस्ताबाट अर्को पुस्तामा सर्दैछ।
कतै त्यो कापीमा लेखिएको नेपाली अक्षरमा देखिन्छ, कतै नृत्यका पाइलामा, कतै मादलको तालमा।
नेपालबाट हजारौं किलोमिटर टाढा एडिलेडमा हुर्किरहेको नयाँ पुस्तासँगै नेपाली भाषा र संस्कृतिको अर्को पुस्ता पनि हुर्किरहेको छ।

प्रतिक्रिया