प्रवासी नेपाली मञ्च ओशिनियाको प्रथम अधिवेशन, सन्तोष दाहालको नेतृत्वमा नयाँ कार्यसमिति

प्रवासी नेपाली मञ्च ओशिनियाको प्रथम अधिवेशन, सन्तोष दाहालको नेतृत्वमा नयाँ कार्यसमिति


अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) ओशियाना महादेश कमिटीको प्रथम अधिवेशनले सन्तोष दहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। भर्चुअल माध्यमबाट सम्पन्न अधिवेशनले अष्ट्रेलिया र न्युजिल्यान्डमा रहेको संगठनलाई समेट्दै नयाँ नेतृत्व चयन गरेको हो।

अधिवेशनको खुला सत्रमा नेपालमा पछिल्लो समय देखिएका प्राकृतिक विपद्, जलवायु परिवर्तन र जलवायु न्यायदेखि प्रवासी नेपालीको ज्ञान–सीपको उपयोग तथा नागरिकताको निरन्तरतासम्मका विषय उठेका थिए।

प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा जलवायु परिवर्तन र त्यसबाट नेपालले भोगिरहेको असरलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाएको प्रसंग उल्लेख गर्नुभयो। उहाँले महासभामा उठाइएका विषयलाई महत्वपूर्ण बताउँदै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति र जलवायु न्यायको मुद्दालाई अन्तर्राष्ट्रिय तहमा थप प्रभावकारी ढंगले उठाउनुपर्ने धारणा राख्नुभयो।

भोटेकोशी क्षेत्रमा पछिल्लो विपद्ले पुर्‍याएको क्षतिको प्रसंग जोड्दै पोखरेलले जलवायु संकट कुनै एउटा दल वा सरकारको मात्र विषय नभई राष्ट्रिय सरोकारको मुद्दा भएको बताउनुभयो। जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालले व्यहोरेको क्षतिको न्यायोचित सम्बोधनका लागि संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनु नेपालभित्र र बाहिर रहेका नेपालीको साझा दायित्व रहेको उहाँको भनाइ थियो।

पोखरेलले रसुवाको बाढीपहिरोपछिको उद्धार कार्यमा भने सरकारको भूमिकाप्रति प्रश्न उठाउनुभयो। सुरुङमा फसेकाहरूको उद्धारका लागि समयमै छिमेकी चीन र भारतसँग आवश्यक सहयोग लिन नसकिएको भन्दै उहाँले यसलाई विपद् व्यवस्थापनमा देखिएको कमजोरीका रूपमा विज्ञहरूले समेत औँल्याएको बताउनुभयो।

नेकपा एमालेका सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले प्रवासमा रहेका नेपालीसँग भएको ज्ञान, सीप र अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकाससँग जोड्नुपर्नेमा जोड दिनुभयो। विदेशका विश्वविद्यालय तथा व्यावसायिक क्षेत्रमा हासिल भएको विशेषज्ञता मातृभूमिको आर्थिक तथा सामाजिक समृद्धिमा उपयोग गर्न सकिने उहाँको भनाइ थियो।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका पूर्वअध्यक्ष तथा ओशियाना इन्चार्ज सञ्जय थापाले प्रवासी नेपालीका भावी पुस्तालाई नेपालसँग जोडिराख्न वंशजको नागरिकताको निरन्तरताको विषय महत्वपूर्ण रहेको धारणा राख्नुभयो।

ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डेले विदेशमा रहेका नेपालीलाई नेपालको समृद्धिको अभियानसँग जोड्नु संगठनको प्रमुख उद्देश्य रहेको बताउनुभयो। प्रवासी समुदायको ज्ञान, अनुभव, सञ्जाल र सक्रिय सहभागितालाई नेपालको विकासमा उपयोग गर्न सकिने उहाँको भनाइ थियो।

कार्यक्रममा ओएनएफका सचिव चानक पोखरेल, उपसचिव प्रभुराम थापा, सदस्यहरू डा. विनोद श्रेष्ठ, शिशिर नेपाल र माधव शाह तथा सल्लाहकार सदस्य डा. जगदीश तिमिल्सिनालगायतले सम्बोधन गर्दै नयाँ कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए।

अधिवेशनबाट उपाध्यक्षमा होमनाथ निरौला र सचिवमा अशिम कोइराला चयन भएका छन्। भावना नेपाल र सन्तोष श्रेष्ठ उपसचिव चयन हुँदा राम घिमिरे, हेम खनाल, उत्तम अधिकारी, नरविर नेम्वाङ, नारायण चौलागाईं, अशोक केशी र विशाल रानामगर सदस्य चयन भएका छन्। ओएनएफ अष्ट्रेलियाका अध्यक्ष रमेश पौडेल र न्युजिल्यान्डका अध्यक्ष मिलन जिसी पदेन सदस्य रहने व्यवस्था गरिएको छ।

निवर्तमान अध्यक्ष राजु उपाध्यायको अध्यक्षतामा भएको अधिवेशनको सञ्चालन सन्तोष दहालले गरेका थिए। बन्द सत्रमा उपाध्यायले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ।