एडिलेड । नेपाली रक संगीतको चर्चित ब्यान्ड १९७४ एडीको ‘रक यात्रा टुर २०२६’ अन्तर्गत एडिलेड कन्सर्ट आगामी अक्टोबर ८ बिहीबार साँझ ७ बजेदेखि हिन्ड्ली स्ट्रिट म्युजिक हलमा हुने भएको छ। कन्सर्टलाई नेपालका बाढीपहिरो प्रभावितका लागि सञ्चालित ‘टुगेदर फर नेपाल’ अभियानसँग जोड्दै प्रत्येक टिकटबाट २ अस्ट्रेलियन डलर सहयोगका लागि छुट्याइने आयोजकले जनाएको छ।
अस्ट्रेलियाभर हुने ‘रक यात्रा’का कार्यक्रममार्फत कम्तीमा २० हजार अस्ट्रेलियन डलर जुटाउने लक्ष्य राखिएको छ। विभिन्न सहरमा बिक्री हुने टिकटबाट संकलित रकम नेपालका विपद् प्रभावित परिवारको सहयोगमा उपलब्ध गराइनेछ।
एडिलेडमा कन्सर्ट गिरिश इभेन्ट्स एण्ड इन्टरटेन्मेन्ट र थ्री केजी इभेन्ट्सले संयुक्त रूपमा आयोजना तथा व्यवस्थापन गर्दैछन्। संगीत र सामाजिक उत्तरदायित्वलाई जोड्दै प्रवासमा रहेका नेपालीको सहभागिताबाट मातृभूमिमा विपद्को सामना गरिरहेका परिवारसम्म सहयोग पुर्याउने गरी कार्यक्रम अघि बढाइएको हो।

कन्सर्टलाई सांगीतिक मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले राहत अभियान समावेश गरिएको आयोजकले जनाएको छ। प्रत्येक टिकटबाट निश्चित रकम छुट्याइने भएकाले कार्यक्रममा सहभागी हुने दर्शकसमेत प्रत्यक्ष रूपमा नेपालका बाढीपहिरो प्रभावितका लागि सञ्चालन गरिएको सहयोग अभियानमा जोडिनेछन्।
कार्यक्रममा १९७४ एडीले आफ्ना विभिन्न कालखण्डका चर्चित गीतसहित प्रत्यक्ष प्रस्तुति दिनेछ। लामो समयदेखि नेपाली संगीतप्रेमीमाझ लोकप्रिय ब्यान्डको एडिलेड प्रस्तुतिलाई लक्षित गर्दै कार्यक्रमको तयारी अघि बढाइएको आयोजकले जनाएको छ।
कार्यक्रमका टाइटल स्पोन्सर ग्लोबल सेलेक्ट एजुकेशन एण्ड माइग्रेसन सर्भिसेज र केन्टफोर्ड इन्स्टिच्युट रहेका छन्। ग्रेस इन्टरनेसनल र कालिकोटे ज्वेलर्स गोल्ड स्पोन्सरका रूपमा कार्यक्रममा जोडिएका छन् भने विभिन्न व्यवसाय तथा सामुदायिक संघसंस्थाले पनि कार्यक्रमलाई सहयोग गरेका छन्। अस्ट्रेलियाभर सञ्चालन हुने ‘रक यात्रा टुर २०२६’ को व्यवस्थापन रोटेपिङ इन्टरटेन्मेन्टले गरेको छ।
सन् १९९० को दशकको सुरुवातमा काठमाडौंमा स्थापना भएको १९७४ एडी नेपाली रक संगीतका स्थापित ब्यान्डमध्ये एक हो। रकसँगै नेपाली लोक, ब्लुज, फङ्क र ज्याजका प्रभावलाई संगीतमा समेट्दै आएको ब्यान्डका ‘नेपाली हो’, ‘परेलीमा’, ‘सम्झी बस्छु’, ‘पहिलो जुनीमा’, ‘गुराँसै फुल्यो’ र ‘पिँजडाको सुगा’ लगायतका गीत विभिन्न पुस्ताका श्रोतामाझ लोकप्रिय छन्।
एडिलेड कन्सर्टका लागि टिकट बिक्री खुला गरिएको छ। इच्छुक दर्शकले अनलाइनमार्फत टिकट खरिद गर्न सक्ने आयोजकले जनाएको छ।
टिकट खरिदका लागि यहाँ जानुहोस् https://tinyurl.com/nhbs9k92

प्रतिक्रिया