एडिलेड । नेपालमा हालै आएको बाढीबाट मानसिक तथा भावनात्मक रूपमा प्रभावित नेपाली समुदायका सदस्यलाई लक्षित गरी एडिलेडमा निःशुल्क ‘आर्ट्स एन्ड वेलबिइङ सेसन’ आयोजना हुने भएको छ।
एनआरएनए स्टुडेन्ट एडभाइजरी काउन्सिल र एनआरएनए अस्ट्रेलिया फाउन्डेसनको आयोजनामा सेप्टेम्बर २५ शुक्रबार साँझ ५ देखि ७ बजेसम्म कार्यक्रम हुनेछ। पीस मल्टिकल्चरल सर्भिसेज र रिलेसनसिप्स अस्ट्रेलिया साउथ अस्ट्रेलियाको सहकार्यमा हुने कार्यक्रमलाई एडिलेड नेप्लिज स्टुडेन्ट सोसाइटीले सहयोग गरेको छ।
हिन्दमार्सस्थित रिलेसनसिप्स अस्ट्रेलिया एसएको ४९ए ओर्समन्ड स्ट्रिटमा हुने सेसनमा कला तथा सिर्जनात्मक गतिविधिमार्फत मानसिक सुस्वास्थ्य र आत्मअभिव्यक्तिका विषयमा छलफल तथा अभ्यास गरिनेछ।

एनआरएनए अस्ट्रेलिया फाउन्डेसनकी बोर्ड सदस्य मञ्जु खड्काले केबीसी खबरसँग कुरा गर्दै नेपालमा पछिल्लो समय आएको बाढीपछि मानसिक स्वास्थ्यसम्बन्धी चुनौती सामना गरिरहेका नेपाली समुदायका सदस्यलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताइन्।
‘यो निःशुल्क सेसन हो। नेपालमा हालै आएको बाढीका कारण मानसिक स्वास्थ्यसम्बन्धी चुनौती सामना गरिरहेका नेपाली समुदायका सदस्यलाई सहयोग गर्ने हाम्रो उद्देश्य हो,’ खड्काले भनिन्।

पीस मल्टिकल्चरल सर्भिसेजमा काउन्सेलर तथा केस म्यानेजरसमेत रहेकी खड्काका अनुसार रिलेसनसिप्स अस्ट्रेलिया साउथ अस्ट्रेलियामार्फत नेपाली समुदायका सदस्यले आवश्यकताअनुसार व्यावसायिक काउन्सेलरबाट निःशुल्क र गोप्य काउन्सेलिङ सेवा लिन सक्नेछन्।
सेसनलाई वेलबिइङ सिस्टम्सकी प्रोभिजनल आर्ट्स थेरापिस्ट भेरोनिका हन्टर–रिभिएरले सहजीकरण गर्नेछिन्। कार्यक्रममा सहभागी हुन कला वा चित्रकलाको पूर्वअनुभव आवश्यक नपर्ने र आवश्यक सामग्री आयोजकले उपलब्ध गराउने जनाएको छ।
कार्यक्रममा सहभागी हुन इच्छुकले आयोजकले उपलब्ध गराएको क्यूआर कोडमार्फत अग्रिम दर्ता गर्न सक्नेछन्।


प्रतिक्रिया