पर्थ । पश्चिम अस्ट्रेलियाको पर्थमा नेपाली कला, संस्कृति, संगीत, मौलिक परिकार र बहुसांस्कृतिक पहिचानलाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यसहित ‘नेपाल फेस्टिभल पर्थ २०२६’ आयोजना हुने भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) पश्चिम अस्ट्रेलियाको आयोजनामा आगामी १० अक्टोबर २०२६, शनिबार पर्थको मुटुमा रहेको वेलिङ्टन स्क्वायरमा फेस्टिभल आयोजना हुनेछ। बिहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने कार्यक्रम निःशुल्क तथा परिवारमैत्री रहने आयोजकले जनाएको छ।
हरेक दुई वर्षमा आयोजना हुँदै आएको नेपाल फेस्टिभललाई पश्चिम अस्ट्रेलियामा नेपाली समुदायको कला, संस्कृति र पहिचान प्रवर्द्धन गर्ने प्रमुख सामुदायिक कार्यक्रमका रूपमा लिइन्छ। यस वर्षको फेस्टिभलमा नेपाली परम्परा, कला, संगीत, नृत्य, मौलिक खाना तथा समुदायको सांस्कृतिक विविधतालाई विशेष प्राथमिकता दिइनेछ।

फेस्टिभलको सुरुवात नेपालका विभिन्न जातजाति र भूगोलको प्रतिनिधित्व गर्ने भव्य सांस्कृतिक परेडबाट हुनेछ। यस वर्षको मुख्य आकर्षणका रूपमा ‘नेपाल हाउस’ रहनेछ, जहाँ नेपाली हस्तकला, ऐतिहासिक सम्पदा तथा पर्यटकीय गन्तव्यहरूको प्रदर्शनी गरिनेछ।
कार्यक्रमको मुख्य मञ्चमा कलाकार प्रमोद खरेल र परम्परा ब्यान्डले सांगीतिक प्रस्तुति दिनेछन्। त्यस्तै, चर्चित गायिका रचना रिमालका साथै नेवारी, तामाङ सेलोलगायत विभिन्न लोक तथा बहुसांस्कृतिक प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ।
एनआरएनए पश्चिम अस्ट्रेलियाका संयोजक हरिबंश सञ्जेल (सुमन)ले फेस्टिभल नेपाली समुदाय र अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायबीच सम्बन्ध जोड्ने एउटा बलियो पुल भएको बताएका छन्। आफ्नो समृद्ध सम्पदा प्रदर्शन गर्दै पर्थको बहुसांस्कृतिक समुदायसँग नेपालीपन र आत्मीयता साट्ने यो महत्वपूर्ण अवसर भएको उनको भनाइ छ।

नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै फेस्टिभलमा राहत तथा पुनर्स्थापनाका लागि सहयोग जुटाउने सामूहिक पहलसमेत गरिनेछ। प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै उनीहरूको आवाज समुदायसम्म पुर्याउने प्रयास गरिने आयोजकले जनाएको छ।
फेस्टिभल सफल बनाउन एनआरएनए पश्चिम अस्ट्रेलियासँगै नेपाल एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया (नावा), पर्थ नेपाली मन्दिर तथा सामुदायिक केन्द्र (पीबीडब्ल्यूए) लगायत विभिन्न संघसंस्था, क्लब तथा व्यवसाय सक्रिय रूपमा सहभागी हुनेछन्।





तस्बिर : सामाजिक सञ्जाल (फाइल फोटो)
यस पटकको फेस्टिभललाई इन्टरलेस स्टडिजले मुख्य प्रायोजन गरेको छ भने बासमती ग्रोसरी मार्ट र ८८४८ मोमो हाउस प्रमुख सह–प्रायोजकका रूपमा रहेका छन्। यससँगै अन्य विभिन्न विधाका प्रायोजकसमेत सहभागी हुनेछन्। कार्यक्रमलाई सिटी अफ पर्थ, अफिस अफ मल्टिकल्चरल इन्ट्रेस्ट्स (ओएमआई) र लटरीवेस्टले समेत आर्थिक सहयोग गरेका छन्।
फेस्टिभलमा पश्चिम अस्ट्रेलिया राज्य सरकारका उच्चपदस्थ अधिकारी, अस्ट्रेलियाका विभिन्न राज्यबाट एनआरएनएका प्रतिनिधि, सामाजिक व्यक्तित्व तथा नेपाली समुदायका अगुवालाई आमन्त्रण गरिएको छ। कार्यक्रममा नेपाली ढाका टोपी, गुन्यु–चोली तथा विभिन्न परम्परागत पोशाकको प्रदर्शनीसँगै बालबालिकाका लागि रमाइला गतिविधिसमेत समावेश गरिनेछ।
त्यस्तै, नेपाली चिया चाख्ने ‘टी टेस्टिङ’ स्टलका साथै मःम, सेलरोटी तथा अन्य परम्परागत नेपाली परिकारका स्टल रहनेछन्। आयोजकका अनुसार यस वर्षको फेस्टिभलमा करिब १५ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।
एनआरएनए पश्चिम अस्ट्रेलियाले नेपाली समुदायसँगै पर्थको बहुसांस्कृतिक समुदायलाई फेस्टिभलमा सहभागी भएर नेपाली संस्कृति, संगीत, परम्परा र स्वादको अनुभव गर्न आग्रह गरेको छ।


प्रतिक्रिया