नवाजको नेतृत्वमा भुवन पाण्डे, २७औँ वार्षिकोत्सवसँगै नयाँ कार्यसमिति चयन

नवाजको नेतृत्वमा भुवन पाण्डे, २७औँ वार्षिकोत्सवसँगै नयाँ कार्यसमिति चयन


सिड्नी । अस्ट्रेलियाको नेपाली समुदायमा क्रियाशील पुराना सामाजिक संस्थामध्ये एक नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) ले भुवन पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। सिड्नीको अर्बनस्थित ग्रान्ड प्यालेस फङ्सन सेन्टरमा सम्पन्न २७औँ वार्षिक साधारणसभाबाट पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन्।

सन् १९९९ मा स्थापना भएको संस्थाले साधारणसभासँगै आफ्नो २७औँ वार्षिकोत्सवसमेत मनाएको छ। नयाँ नेतृत्वले संस्थाको लामो सामुदायिक यात्रालाई निरन्तरता दिँदै युवा सहभागिता, सामाजिक सेवा, खेलकुद, सांस्कृतिक संरक्षण तथा समुदायका बदलिँदा आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले संस्थालाई थप समावेशी, पारदर्शी र समुदायकेन्द्रित बनाउँदै नयाँ पुस्ताको सहभागिता बढाउने बताए। पुरानो पुस्ताको अनुभव र मार्गदर्शनलाई नयाँ पुस्ताको ऊर्जा र सक्रियतासँग जोडेर संस्थालाई अगाडि बढाइने उनको भनाइ थियो।

“२७ वर्षको अनुभवलाई आधार बनाउँदै नयाँ पुस्ताको ऊर्जा र पुरानो पुस्ताको मार्गदर्शनलाई एकसाथ अघि बढाउनेछौँ,” पाण्डेले भने।

संस्थाका निवर्तमान अध्यक्ष तथा संरक्षक चिरञ्जीवी तिवारीले नवाजको २७ वर्षे यात्रालाई नेपाली समुदायको साझा उपलब्धिका रूपमा उल्लेख गरे। संस्थाको मूल उद्देश्यलाई निरन्तरता दिँदै अनुभवी पुस्ताको मार्गदर्शन र नयाँ पुस्ताको सक्रिय सहभागिताबाट नवाजलाई थप मजबुत बनाउनुपर्नेमा उनले जोड दिए।

“नवाज नेपाली समुदायलाई जोड्ने साझा घर हो,” तिवारीले भने। उनले संस्थाको स्थापना र विकासमा योगदान पुर्‍याउने संस्थापक, पूर्वपदाधिकारी, सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे।

वार्षिकोत्सव तथा साधारणसभामा लेबर पार्टीकी संघीय सांसद एस एम्बिहाइपहार, सांसद जुलिया फिन तथा ग्रानभिल काउन्सिलर स्टिभ क्रिस्टोलगायत अतिथिको सहभागिता थियो। उनीहरूले अस्ट्रेलियाली समाजमा नेपाली समुदायले पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए। कार्यक्रममा अर्बन पुलिस एरिया कमान्डका प्रतिनिधिको समेत उपस्थिति थियो।

कार्यक्रममा न्यु साउथ वेल्सका लागि नेपाली अवैतनिक पूर्व कन्सुलर तथा नवाजका पूर्वअध्यक्ष सञ्जीव शर्मा, पूर्वअध्यक्षहरू विनोद शर्मा र अरुण तामाङ तथा संस्थापक उपाध्यक्ष बद्री अर्याललगायत सहभागी थिए। एनआरएनए अस्ट्रेलियाका पूर्वअध्यक्ष नन्दु गुरुङ, समाजसेवी तथा व्यवसायी रञ्जु वाग्ले थापा, एनएसडब्ल्यू स्टेट कोअर्डिनेटर उषा किरण बरिया पोखरेल र एनआरएनए एनएसडब्ल्यू एससीसी सचिव प्रताप पन्थीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामाजिक अभियन्ताको पनि उपस्थिति थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले सामाजिक सेवा तथा विपद्का समयमा नवाजले निर्वाह गर्दै आएको भूमिकाको चर्चा गर्दै नयाँ नेतृत्वलाई संस्थाको सामुदायिक भूमिकालाई थप प्रभावकारी बनाउन शुभकामना दिएका थिए।

अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन (एन्जा) का अध्यक्ष कृष्ण तिवारीले नेपाली संघसंस्था र सञ्चार क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताए। समुदायका गतिविधि, उपलब्धि र सरोकारलाई सञ्चारमाध्यममार्फत आम समुदायसम्म पुर्‍याउनु आवश्यक रहेको उनको भनाइ थियो।

एन्जाका पूर्वअध्यक्ष हेमन्त काफ्लेले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै संस्थागत पारदर्शिता, सहकार्य र सामुदायिक एकतामा जोड दिए। कार्यक्रममा एन्जाका सल्लाहकार डा. राजु मानन्धरलगायत विभिन्न व्यक्तित्वले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए।

बालबालिकाको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रममा ‘किड्स ट्यालेन्ट अवार्ड्स’ समेत प्रदान गरिएको थियो। विभिन्न विधामा प्रतिभा प्रस्तुत गरेका बालबालिकालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति

साधारणसभाबाट अध्यक्षमा भुवन पाण्डे, वरिष्ठ उपाध्यक्ष तथा खेलकुद संयोजकमा बैकुण्ठ डंगोल, उपाध्यक्षमा शर्मिला लुइँटेल र सुशील शर्मा, महासचिवमा उत्सव अर्याल, सहसचिवमा विकास तामाङ, कोषाध्यक्षमा विशाल पन्थी, मिडिया संयोजकमा कृष्ण तिवारी, कार्यक्रम संयोजकमा लक्ष्मण बेलबासे, विभागीय कार्यक्रम संयोजकमा सन्तोष शर्मा र आईटी संयोजकमा नवीन सिंह चयन भएका छन्।

कार्यसमिति सदस्यमा सञ्जय श्रेष्ठ, सदिना श्रेष्ठ, सुभाष हमाल, पुष्कल क्षेत्री, सूर्यतम दाहाल, उत्सव पन्त, अभिनव पाण्डे, अम्बिका खनाल तिवारी, पविता सुवेदी र संयोग गौतम चयन भएका छन्।

सल्लाहकारमा सञ्जीव शर्मा, विनोद शर्मा, अरुण तामाङ, हेमन्त काफ्ले, बद्री अर्याल, डा. राजु मानन्धर, उमेश पन्त, विष्णु हमाल, एन्फा अध्यक्ष विजय राउत, नन्दु गुरुङ, रञ्जु थापा, कल्याण खड्का, मनजीत घिमिरे र टी.एन. अर्याल रहेका छन्।

यसैबीच, वार्षिकोत्सवका अवसरमा नवाजले नेपालमा बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ राहत रकम संकलन गरेको जनाएको छ। संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने संस्थाले जानकारी दिएको छ।