एडिलेड । दक्षिण अस्ट्रेलियामा नेपाली समुदायलाई क्रिकेटमार्फत जोड्दै आएको एडिलेड नेप्लिज क्रिकेट एसोसिएसन (एन्का) को नेतृत्वमा विजय जोशीले निरन्तरता पाएका छन्। एन्काको सन् २०२६/२७ कार्यकालका लागि जोशी पुनः अध्यक्ष चयन भएका हुन्।
आइतबार, २० सेप्टेम्बरमा सम्पन्न संस्थाको वार्षिक साधारणसभापछि सन् २०२६/२७ का लागि नयाँ कार्यसमितिलाई औपचारिकता दिइएको एन्काले जनाएको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा डोल्कर गुरुङ, सचिवमा सन्तोष अधिकारी, कोषाध्यक्षमा दिपेश राज पाण्डे र जनसम्पर्क अधिकारीमा दीपक क्षेत्री रहेका छन्। त्यस्तै, कार्यसमिति सदस्यहरूमा बिनिता सिंह, पराश जोशी, डिप्सन खड्का, बिनिता गौतम जोशी, मधुकर पौडेल र दिपेन न्यौपाने रहेका छन्।

दक्षिण अस्ट्रेलियाको नेपाली समुदायमा क्रिकेटको पहुँच विस्तारसँगै विभिन्न पृष्ठभूमि र उमेर समूहका मानिसलाई खेलसँग जोड्ने उद्देश्य एन्काले राखेको छ। संस्थाले क्रिकेटलाई खेल गतिविधिमा मात्र सीमित नराखी आपसी सम्बन्ध, सहभागिता र सामुदायिक सहकार्य बढाउने माध्यमका रूपमा अगाडि बढाउने जनाएको छ।
पुनः अध्यक्षको जिम्मेवारी सम्हालेका विजय जोशीले एन्काको अहिलेसम्मको यात्रालाई अगाडि बढाउँदै समुदायप्रतिको योगदान र ‘सबैका लागि क्रिकेट’ भन्ने मूल भावनालाई केन्द्रमा राखेर संस्थालाई थप समावेशी र समुदायमुखी बनाउँदै लैजाने बताएका छन्।
एन्काले नयाँ कार्यकालमा ‘समुदायलाई योगदान’ र ‘सबैका लागि क्रिकेट’ लाई दुई प्रमुख उद्देश्यका रूपमा अघि सारेको छ। उमेर, लैङ्गिकता, पृष्ठभूमि वा क्षमताको भिन्नताबिना क्रिकेटमा रुचि राख्ने सबैलाई सहभागी हुने, आफ्नो क्षमता विकास गर्ने र खेलसँग जोडिने वातावरण तयार गर्ने संस्थाको लक्ष्य छ।
त्यसैगरी क्रिकेटको माध्यमबाट नेपाली समुदायबीचको सम्बन्ध थप सुदृढ बनाउँदै आवश्यक समयमा समुदायका पक्षमा सहयोग र सहकार्य गर्ने भूमिकालाई पनि निरन्तरता दिइने एन्काले जनाएको छ।
नयाँ कार्यसमिति सार्वजनिक गर्दै एन्काले संस्थाको यात्रामा साथ दिँदै आएका सदस्य, स्वयंसेवक, क्लब, खेलाडी, परिवार, प्रायोजक तथा समर्थकप्रति आभार व्यक्त गरेको छ। उनीहरूको योगदान र सहकार्यलाई आधार बनाउँदै आगामी पुस्ताका लागि अझ बलियो र समावेशी क्रिकेट समुदाय निर्माण गर्ने एन्काको भनाइ छ।

प्रतिक्रिया