एडिलेड । नेपालमा प्राकृतिक विपद्बाट प्रभावित परिवारको सहयोगार्थ दक्षिण अस्ट्रेलियाको भियतनामी समुदायले सञ्चालन गरेको मानवीय सहायता अभियानबाट ५४ हजार ८ सय अस्ट्रेलियन डलर संकलन भएको छ।
दक्षिण अस्ट्रेलियास्थित फाप होआ टेम्पल को पहलमा सञ्चालित अभियानअन्तर्गत सेप्टेम्बर १३ मा विशेष फन्डरेजिङ कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा भियतनामी समुदायका सदस्य, दाता तथा शुभेच्छुक सहभागी भएर नेपालका विपद् प्रभावित परिवारका लागि सहयोग जुटाएका थिए।
आयोजकका अनुसार अभियानबाट सुरुमा ५४ हजार ३५० अस्ट्रेलियन डलर संकलन भएको थियो। कार्यक्रम सम्पन्न भएपछि पनि सहयोग आउने क्रम जारी रहेपछि कुल संकलित रकम ५४ हजार ८ सय डलर पुगेको हो।
अभियानमा सहयोग गर्ने दाता, समुदायका सदस्य तथा शुभेच्छुकप्रति आयोजकले आभार व्यक्त गरेको छ। भियतनामी समाज दक्षिण अस्ट्रेलियाकी अध्यक्ष क्विन त्रानले विपद्को कठिन घडीमा नेपाली समुदायप्रति देखाइएको ऐक्यबद्धता र करुणालाई महत्वपूर्ण मान्दै सानो वा ठूलो हरेक योगदानले प्रभावित परिवारसम्म मानवीय भावना र आशाको सन्देश पुर्याउने बताइन्।

आयोजकले संकलित रकमलाई आर्थिक सहयोगमा मात्र सीमित नभई विपद्को सामना गरिरहेका नेपालीप्रति भियतनामी समुदायले व्यक्त गरेको मानवीय सद्भाव र सहानुभूतिको प्रतीकका रूपमा लिएको छ। धेरै मानिस एउटै मानवीय उद्देश्यमा जोडिँदा सहयोगको प्रभाव अझ ठूलो हुने उल्लेख गर्दै आयोजकले नेपालका प्रभावित परिवारको अवस्था छिट्टै सहज होस् भन्ने कामनासमेत गरेको छ।
दक्षिण अस्ट्रेलियाको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्काले केबीसी खबरसँग कुरा गर्दै यस अभियानले नेपाली र भियतनामी समुदायलाई अझ नजिक ल्याएको बताइन्। विपद्को कठिन समयमा भियतनामी समुदायले नेपाल र नेपालीप्रति देखाएको सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै उनले यस्ता मानवीय पहलले दुई समुदायबीचको सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउने उल्लेख गरिन्।
फाप होआ टेम्पलका भिक्षु थिच भियेन त्रि संकलित सहयोग रकम लिएर नेपाल जाने तयारीमा छन्। नेपाल पुगेपछि उनले बौद्ध विहारमार्फत विपद् प्रभावित क्षेत्रमा पुगेर सहयोग रकम प्रत्यक्ष रूपमा हस्तान्तरण गर्ने योजना रहेको आयोजकले जनाएको छ ।





प्रतिक्रिया