एडिलेडमा नवौँ येँया पुन्हि–इन्द्रजात्रा हुँदै

एडिलेडमा नवौँ येँया पुन्हि–इन्द्रजात्रा हुँदै


एडिलेड । नेवाः समुदायको प्रमुख सांस्कृतिक पर्वमध्ये एक येँया पुन्हि अर्थात् इन्द्रजात्रा यस वर्ष पनि दक्षिण अस्ट्रेलियाको एडिलेडमा मनाइने भएको छ। गुठी साउथ अस्ट्रेलिया (गुठी एसए) ले आगामी सेप्टेम्बर २६ मा नवौँ संस्करणको इन्द्रजात्रा आयोजना गर्न लागेको हो।

क्लोभेली पार्कस्थित कस्ग्रोभ हलमा दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार्यक्रममा प्रवेश निःशुल्क रहने गुठी एसएले जनाएको छ।

जात्रामा परम्परागत इन्द्रजात्रा सांस्कृतिक शोभायात्रा, लाखे नाच, धिमे बाजा, चर्या नृत्य, धिमे नृत्य तथा अन्य नेवाः सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण रहनेछन्। नेवाः समुदायको परम्परागत परिकार समयबजी, परिवारसहित सहभागी हुन सकिने सांस्कृतिक गतिविधि, सामुदायिक भेटघाट तथा बहुसांस्कृतिक कार्यक्रम पनि समेटिनेछन्। विशेषगरी दोस्रो पुस्ताका बालबालिका तथा युवाले धिमे बाजा र नेवाः नृत्यमा सक्रिय सहभागिता जनाउने आयोजकले जनाएको छ।

इन्द्रजात्रा अर्थात् येँया पुन्हि विशेषगरी काठमाडौं उपत्यका र त्यहाँको नेवाः समुदायसँग जोडिएको प्राचीन जात्रा हो। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस पर्वमा परम्परागत बाजागाजा, नृत्य, धार्मिक अनुष्ठान तथा शोभायात्राको विशेष महत्त्व रहन्छ।

गुठी एसएका सचिव सजिन प्रधानाङ्गका अनुसार एडिलेडमा जात्रालाई निरन्तरता दिनुको उद्देश्य उत्सव मनाउनुमा मात्र सीमित नभई यहाँ हुर्किरहेको नयाँ पुस्तालाई नेवाः संस्कृति, परम्परा र पहिचानसँग जोड्नु पनि हो। नेपालको सांस्कृतिक विविधतालाई दक्षिण अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमाझ चिनाउनु र समुदायबीचको सम्बन्ध विस्तार गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको उनले बताए।

गुठी एसएले एडिलेडमा सन् २०१६ देखि येँया पुन्हि–इन्द्रजात्रा आयोजना गर्दै आएको छ। विभिन्न वर्षमा निरन्तरता पाउँदै आएको जात्रा यस वर्ष नवौँ संस्करणमा पुगेको हो।

फोटो : साभार–गुठी एसए फेसबुक पेज (फाइल फोटो)