एडिलेडमा क्रिकेटसँगै मानवीय सेवामा एन्का, रसुवा पीडितलाई सात लाख सहयोग

एडिलेडमा क्रिकेटसँगै मानवीय सेवामा एन्का, रसुवा पीडितलाई सात लाख सहयोग


एडिलेड । एडिलेड नेप्लिज क्रिकेट एसोसिएसन (एन्का) ले सन् २०२५/२६ सिजनका उत्कृष्ट खेलाडीलाई सम्मान गरेको छ। एडिलेडमा आयोजित कार्यक्रममा नेपालका रसुवा बाढीपहिरो पीडितका लागि सात लाख रुपैयाँ सहयोगसमेत गरिएको छ।

एन्काका अनुसार कार्यक्रममा विभिन्न सामग्री लिलाम गरी उठाइएको रकम र अन्य सहयोग गरी सात लाख रुपैयाँ नेपालको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।

कार्यक्रममा पुरुष, महिला र जुनियर विधामा सिजनभर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो।

‘भ्यालुएबल प्लेयर’तर्फ पुरुषमा दीपक क्षेत्री, महिलामा कल्पना थापा विष्ट र जुनियरमा सुभान कडेल सम्मानित भए। ‘बेस्ट प्लेयर अफ द सिजन’ पुरुषतर्फ गोविन्द कार्की, महिलातर्फ रक्षा शुक्ला र जुनियरतर्फ सुभान कडेल घोषित भए।

‘बेस्ट पर्फर्मेन्स अन फिल्ड’तर्फ मनिष काफ्ले, कुष्मा सिलवाल र ईशान पौडेल क्रमशः पुरुष, महिला र जुनियर विधामा सम्मानित भए।

बलिङतर्फ पुरुषमा राजेश भण्डारी, महिलामा सञ्जिला खड्का र जुनियरमा स्वीकृति बाग्ले उत्कृष्ट घोषित भए। ब्याटिङतर्फ गोविन्द कार्की, सबु पौडेल र सुभान कडेलले क्रमशः पुरुष, महिला र जुनियर विधाको सम्मान प्राप्त गरे।

यस वर्षको ‘प्रेसिडेन्ट अवार्ड’ सन्तोष महर्जनलाई प्रदान गरिएको थियो। सन् २०२५/२६ को लिग विजेता साउदर्न नाइट्स क्रिकेट क्लबलाई रनिङ शिल्ड प्रदान गरिएको एन्काले जनाएको छ।

कार्यक्रममा एन्काकी सल्लाहकार तथा पारा ओलम्पियन क्याट्रिना ओएभले नेपालसँगको आफ्नो सम्बन्धबारे चर्चा गर्दै रसुवामा बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरिन्।

सो अवसरमा एन्काका गतिविधिमा सहयोग गर्ने विज्ञापनदाता, सञ्चारकर्मीलगायतलाई सम्मान गरिएको थियो। एडिलेड नेपाली विद्यालय र एडिलेड नेपाली पाठशालालाई पनि समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।

एन्काका अध्यक्ष विजय जोशीले गत सिजनका गतिविधि सञ्चालनमा सहयोग गर्ने क्लब, खेलाडी, विज्ञापनदाता तथा अन्य सहयोगीलाई धन्यवाद दिए। उनले आगामी वर्ष पनि समुदायसँगको सहकार्यलाई निरन्तरता दिने बताए।

कार्यक्रममा विनिता गौतमले स्वागत मन्तव्य राखेकी थिइन् भने एन्काका पब्लिक रिलेसन अफिसर दीपक क्षेत्रीले सञ्चालन गरेका थिए।

एडिलेडमा नेपाली समुदायका बालबालिका, युवा तथा महिलालाई क्रिकेटमा सहभागी गराउँदै आएको एन्काले स्थानीयस्तरमा विभिन्न क्रिकेट प्रतियोगिता तथा गतिविधि सञ्चालन गर्दै आएको छ।