एडिलेडमा भव्य रूपमा तीज सम्पन्न, राफलबाट सङ्कलित रकम प्रधानमन्त्री राहत कोषमा पठाइने

एडिलेडमा भव्य रूपमा तीज सम्पन्न, राफलबाट सङ्कलित रकम प्रधानमन्त्री राहत कोषमा पठाइने


एडिलेड । एडिलेड नेपाली समाजको आयोजनामा नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज २०२६ भव्य तथा उल्लासमय वातावरणमा सम्पन्न भएको छ।

सेप्टेम्बर १४ मा क्लोभेली पार्कस्थित कस्ग्रोभ हलमा आयोजित तीज विशेष कार्यक्रममा करिब एक हजार नेपाली समुदायका सदस्यहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा महिला, पुरुष, बालबालिका तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तीजको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्दै पूजा–आराधना, तीज गीत, नृत्य, सांस्कृतिक प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो।

एडिलेड नेपाली समाजको भ्रातृ संस्था एडिलेड नेपाली विद्यालयका बालबालिकाले प्रस्तुत गरेको तीज गीत तथा नृत्य कार्यक्रमको विशेष आकर्षण बनेको थियो। बालबालिकाको उत्साहजनक सहभागिता र प्रस्तुतिले प्रवासमा हुर्किरहेको नयाँ पुस्तामा नेपाली भाषा, कला, संस्कृति र परम्पराप्रतिको रुचि तथा अपनत्व झल्काएको थियो।

कार्यक्रममा सहभागी महिलाहरूले विभिन्न तीज गीत तथा नृत्य प्रस्तुत गर्दै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणको सन्देश दिएका थिए। बालबालिका तथा युवाहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप रौनक प्रदान गरेको थियो।

व्रतालु महिलाहरूका लागि कार्यक्रमस्थलमा यज्ञ स्थापना गरी पण्डित सम्भव सुवेदीद्वारा विधिवत् पूजा–आराधनाको व्यवस्था गरिएको थियो। सहभागी महिलाहरूले तीजकै दिन सामूहिक रूपमा भगवान् शिवको पूजा–आराधना गर्ने अवसर प्राप्त गरेका थिए।

बहुसांस्कृतिक समुदायको बसोबास रहेको दक्षिण अष्ट्रेलियामा नेपाली समुदायको समेत उल्लेखनीय उपस्थिति रहँदै आएको छ। कार्यक्रमका लागि दक्षिण अष्ट्रेलिया राज्य सरकारबाट प्राप्त सहयोगप्रति एडिलेड नेपाली समाजले आभार व्यक्त गरेको छ।

कार्यक्रममा राफल चिठ्ठासमेत आयोजना गरिएको थियो। राफल चिठ्ठाबाट सङ्कलित रकममा समाजका तर्फबाट थप रकमसमेत योगदान गरी नेपालको ‘प्रधानमन्त्री राहत कोष’मा पठाइने समाजका सचिव प्रदीप निरौलाले जानकारी दिनुभयो।

राहतस्वरूप पठाइने रकमको अन्तिम निर्णय समाजको कार्यसमिति बैठकबाट गरिने जनाइएको छ। राफल चिठ्ठाका प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः कालिकोट ज्वेलर्स, चन्द्रकोट ज्वेलर्स र फाइन आर्ट फ्रेमिङले प्रायोजन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै एडिलेड नेपाली समाजका अध्यक्ष बालगोपाल उपाध्यायले एडिलेडमा बसोबास गर्ने नेपाली समुदायलाई एकै ठाउँमा भेला गराई आपसी सद्भाव, भाइचारा तथा सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

उहाँले यस्ता कार्यक्रमले प्रवासमा नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै समुदायबीचको एकता र सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुर्‍याउने बताउनुभयो।

समाजले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहभागी, स्वयंसेवक, प्रायोजक, सहयोगी संस्था, सञ्चारकर्मी तथा नेपाली समुदायका सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गरेको छ।

तस्बिर : फ्यान्टास्टिक पिक्चर्स सर्भिसेज