काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकताका लागि एमआईटी ग्रुप फाउन्डेसनले दीर्घकालीन सहयोग गर्ने भएको छ। फाउन्डेसनका संस्थापक शेष घले र जमुना घलेले प्रभावित बालबालिका र उनीहरूका परिवारले भोगेको कठिनाइप्रति आफूहरू गहिरो रूपमा प्रभावित भएको बताएका छन्।
राष्ट्रिय बाल अधिकार परिषद् (NCRC) सँग भएको समझदारीपत्र (MoU) अनुसार एमआईटी ग्रुप फाउन्डेसनले बाढीबाट प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकालाई कक्षा १२ सम्म सहयोग गर्न अधिकतम ५७ करोड ८५ लाख रुपैयाँ (NPR ५७८.५ मिलियन) सम्मको परियोजना बजेट प्रतिबद्ध गरेको छ। समझदारीपत्रमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीको उपस्थितिमा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव दुर्गा प्रसाद चालिसे तथा एमआईटी फाउन्डेसनका संस्थापक अध्यक्ष डा. शेष घलेले हस्ताक्षर गरेका छन् ।
यस सहयोगअन्तर्गत बालबालिकाको परिस्थितिअनुसार शिक्षा, खाना, आवास, कपडा, स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक आवश्यकताहरू पूरा गर्न सहयोग गरिनेछ।
शेष घले र जमुना घलेले बाढीको पानी घटेपछि पनि प्रभावित बालबालिकाको समस्या समाप्त नहुने बताएका छन्। उनीहरूले कठिन समयमा मात्र नभई आगामी वर्षहरूमा समेत बालबालिकालाई सहयोग गर्दै उनीहरूको शिक्षा निरन्तरता र भविष्य निर्माणमा साथ दिने बताएका छन्।
उनीहरूले भनेका छन्, “हामी उनीहरूलाई कठिन समयमा मात्र होइन, आगामी वर्षहरूमा पनि सहयोग गर्न चाहन्छौं, ताकि उनीहरूले आफ्नो शिक्षा निरन्तरता दिन सकून्, आवश्यक आधारभूत आवश्यकता पूरा गर्न सकून् र आशाका साथ भविष्यतर्फ अघि बढ्न सकून्।”
घले दम्पतीले यो पहल आर्थिक सहयोगमा मात्र सीमित नभएको बताउँदै बालबालिका हुर्कंदै जाँदा उनीहरूलाई निरन्तर साथ दिने दीर्घकालीन प्रतिबद्धता भएको उल्लेख गरेका छन्।
उनीहरूले भनेका छन्, “सबैभन्दा महत्वपूर्ण कुरा, उनीहरूलाई आफूहरू बिर्सिएका छैनौं भन्ने थाहा होस् भन्ने हाम्रो चाहना हो।”

मेलबर्नमा बसोबास गर्ने घले दम्पत्तिले स्थापना गरेको मेलबर्न ईन्ष्टिच्युट अफ टेक्नोलोजीले सामाजिक कार्यका लागि फाउन्डेसन सञ्चालन गर्दै आएको छ । यसअघि सन् २०१५ को महाभूकम्पको बेला एनआरएनको ग्लोबल अध्यक्ष रहेका घले सक्रियतापूर्वक पुनस्र्थापनाको कार्यमा खटिएका थिए । घलेकै योजना मुताविक लाप्राकमा भूकम्प पीडितहरुको लागि घर बनाइएको थियो । तत्कालीन सरकारले उनलाई पुननिर्माणका लागि ग्लोबल एम्बेसडर समेत बनाएको थियो ।

प्रतिक्रिया