‘मिस युनाइटेड नेसन २०२६’ मा नेपालको प्रतिनिधित्व स्नेहा राउतले गर्ने

‘मिस युनाइटेड नेसन २०२६’ मा नेपालको प्रतिनिधित्व स्नेहा राउतले गर्ने


काठमाडौँ । भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस युनाइटेड नेसन २०२६’ मा नेपालको प्रतिनिधित्व स्नेहा राउतले गर्ने भएकी छन्।

ग्रिन आर्ट्स मिडिया प्रालिले राजधानीमा बुधबार एक कार्यक्रम गर्दै स्नेहा राउतलाई ‘मिस युनाइटेड नेसन नेपाल २०२६’ को ताज पहिराउँदै प्रतियोगिताको आधिकारिकता दिएको हो।

आगामी अक्टोबर ५ देखि भारतको नयाँ दिल्लीमा हुने उक्त प्रतियोगितामा उनी नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुनेछन्। ललितपुरकी २४ वर्षीया राउतले थाइल्यान्डबाट ब्याचलर इन बिजनेस स्टडिज पूरा गरेकी छन्।

बत्तीसपुतलीस्थित द स्ट्र्यान्ड लाउन्ज एन्ड बारमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, चर्चित फोटोग्राफर महेश प्रधान, फेसन कोरियोग्राफर तथा पेजेन्ट निर्देशक अनिला श्रेष्ठ र ग्रिन आर्ट्स मिडियाका सीईओ प्रवीणप्रसाद लाकौललगायतले राउतलाई ताज पहिराउँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गरिमा उच्च राख्न शुभकामना दिएका थिए।

कार्यक्रममा फेसन कोरियोग्राफर अनिला श्रेष्ठले ‘मिस युनाइटेड नेसन २०२६’ मार्फत राउतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल चिनाउने अवसर प्राप्त भएको बताइन्। प्रतियोगीका लागि राउतलाई व्यक्तित्व विकास, प्रशिक्षण तथा प्रस्तुति तयारीमा आफूले महत्त्वपूर्ण भूमिका खेल्ने जानकारी उनले दिइन्।

कार्यक्रममा फेसन, मनोरञ्जन, फोटोग्राफी, कला तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। ‘मिस युनाइटेड नेसन नेपाल’ नेपाली युवतीहरूको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व र नेतृत्व क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसरका रूपमा सदुपयोग हुँदै आएको जानकारी गराइयो।

राउतले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको कला, संस्कृति, सौन्दर्य, प्रतिभा र पहिचानलाई प्रभावकारी रूपमा प्रस्तुत गर्नेछु।’