मेलबर्नमा मानवसेवा आश्रमको च्यारिटी डिनर हुँदै !

मेलबर्नमा मानवसेवा आश्रमको च्यारिटी डिनर हुँदै !

मानवीय सेवा अभियानलाई सहयोग गर्न चाहनेहरूलाई च्यारिटी डिनरमा सहभागी हुन आग्रह


मेलबर्न — मानवसेवा आश्रम नेपालको मानवीय सेवा अभियानलाई सहयोग गर्ने उद्देश्यले अष्ट्रेलियाको भिक्टोरियामा मानवसेवा अष्ट्रेलिया–भिक्टोरियन च्याप्टर च्यारिटी डिनर २०२६ आयोजना हुने भएको छ।

मानवसेवा अष्ट्रेलिया–भिक्टोरियन च्याप्टरको आयोजनामा आगामी शुक्रबार, २५ सेप्टेम्बर २०२६ मा विशेष च्यारिटी डिनर आयोजना गर्न लागिएको हो। कार्यक्रममा नेपाली समुदाय, विभिन्न संघसंस्था, व्यवसायी, शुभेच्छुक तथा मानवसेवामा रुचि राख्ने सबैलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ।

कार्यक्रमबाट संकलित सहयोग नेपालमा मानवसेवा आश्रमले सञ्चालन गर्दै आएको मानवीय सेवा अभियानमा प्रयोग गरिने आयोजकले जनाएको छ। मानवसेवा आश्रमले सडकमा आश्रित तथा सहयोगापेक्षी अवस्थामा रहेका व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार, पुनर्स्थापना तथा सम्भव भएसम्म परिवारसँग पुनर्मिलनका लागि काम गर्दै आएको छ।

मानवसेवा आश्रमका संस्थापक तथा अध्यक्ष रामजी अधिकारी पनि अष्ट्रेलियामा सञ्चालन भइरहेको मानवीय सेवा अभियानका क्रममा विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदैछन्।

कार्यक्रम संयोजक जोग लिम्बूले कार्यक्रमबारे जानकारी दिँदै नेपालको मानवीय सेवा अभियानलाई सहयोग गर्न चाहने अष्ट्रेलियास्थित नेपाली समुदाय, संघसंस्था, व्यवसायी तथा शुभेच्छुकहरूलाई च्यारिटी डिनरमा सहभागी हुन आग्रह गरेका छन्।

आयोजकका अनुसार कार्यक्रममा सहभागी हुन नसक्नेहरूले पनि आफ्नो क्षमता अनुसार आर्थिक सहयोग वा दान गर्न सक्नेछन्। कार्यक्रममा प्रत्यक्ष रूपमा सहयोग गर्ने अवसरसमेत उपलब्ध गराइनेछ।

भिक्टोरियामा आयोजना हुने च्यारिटी डिनरले अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई नेपालको मानवीय सेवा अभियानसँग जोड्नुका साथै विपन्न तथा सहयोगापेक्षी मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्ने आयोजकको विश्वास छ।

Click here for the Ticket >>