मानवसेवाको अभियान लिएर अस्ट्रेलियामा मानवसेवा आश्रम, एडिलेडमा विशेष कार्यक्रम

मानवसेवाको अभियान लिएर अस्ट्रेलियामा मानवसेवा आश्रम, एडिलेडमा विशेष कार्यक्रम


एडिलेड । नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त बनाउने महाअभियानमा सक्रिय मानवसेवा आश्रमले अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई मानवीय सेवामार्फत मातृभूमिसँग जोड्ने अभियान सुरु गरेको छ।

‘कनेक्ट अस्ट्रेलिया थ्रु ह्युम्यानिटी’ अभियानअन्तर्गत अस्ट्रेलियाका विभिन्न सहरमा आयोजना हुने कार्यक्रमको शृङ्खलाअन्तर्गत आगामी सेप्टेम्बर १९ तारिख शनिबार एडिलेडमा विशेष मानवीय तथा उत्प्रेरणात्मक कार्यक्रम आयोजना हुने भएको छ।

मानवसेवा अस्ट्रेलिया एडिलेड र नेपाली भजन कीर्तन समूह एडिलेडको संयुक्त आयोजनामा स्थानीय क्लोभेली पार्क मेमोरियल कम्युनिटी हलमा साँझ ५ बजेदेखि कार्यक्रम सुरु हुनेछ।

मानवसेवा आश्रम साउथ अस्ट्रेलियाका संयोजक अनुभव अधिकारीका अनुसार कार्यक्रममा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारी, केन्द्रीय सदस्य निता केसी र सचिव निरज पटेलको सहभागिता रहनेछ।

कार्यक्रममा नेपालमा सडकआश्रित तथा सहयोगापेक्षी अवस्थामा जीवन बिताइरहेका नागरिकको उद्धार, उपचार, संरक्षण र पारिवारिक पुनर्मिलनका लागि आश्रमले गर्दै आएको कामबारे जानकारी गराइनेछ। साथै मानवता, करुणा, मातृभूमिप्रतिको दायित्व र आश्रमको सेवा यात्रासम्बन्धी विशेष प्रस्तुति तथा वृत्तचित्रसमेत प्रदर्शन गरिने आयोजकले जनाएको छ।

अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई नेपालमा सञ्चालन भइरहेको मानवीय सेवासँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गरिएको संयोजक अधिकारीले केबीसी खबरलाई बताउनुभयो। उहाँका अनुसार मानवसेवा आश्रमको ‘कनेक्ट अस्ट्रेलिया थ्रु ह्युम्यानिटी’ अभियानअन्तर्गत पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, सिड्नी, क्यानबेरा र ब्रिसबेन गरी अस्ट्रेलियाका सात प्रमुख सहरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछन्।

वि.सं. २०६९ भदौ १३ गते मकवानपुरको हेटौँडाबाट सेवा सुरु गरेको मानवसेवा आश्रमले हाल नेपालका सातै प्रदेशका २४ जिल्लामा ३५ वटा सेवा केन्द्रमार्फत सेवा सञ्चालन गर्दै आएको छ।

आश्रमका अनुसार हालसम्म नेपालका विभिन्न स्थानबाट १४ हजारभन्दा बढी सहयोगापेक्षी सडकआश्रित नागरिकको उद्धार गरी संरक्षण प्रदान गरिएको छ भने करिब ६ हजार जनालाई सम्मानपूर्वक परिवारसँग पुनर्मिलन गराइएको छ।

सडकपेटी तथा सार्वजनिक स्थलमा कोही पनि नागरिक बेवारिसे तथा असहाय अवस्थामा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यसहित आश्रमले नेपाललाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र’ बनाउने राष्ट्रिय महाअभियान सञ्चालन गर्दै आएको छ।

अस्ट्रेलियामा सञ्चालन गरिएको अभियानमार्फत यहाँ रहेका नेपाली समुदाय, सामाजिक संघसंस्था, व्यवसायी, दाता तथा मानवताप्रेमीलाई मातृभूमिमा भइरहेको मानवीय सेवासँग जोड्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

संयोजक अधिकारीले नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त बनाउने अभियानमा हातेमालो गर्दै मानवीय सेवामा योगदान पुर्‍याउन तथा एडिलेडमा आयोजना हुने कार्यक्रममा सहभागी हुन साउथ अस्ट्रेलियावासी नेपाली समुदायलाई आग्रह गर्नुभएको छ।