बाढी प्रभावित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई एनआरएनए अष्ट्रेलियाको आईसीटी सामग्री सहयोग

बाढी प्रभावित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई एनआरएनए अष्ट्रेलियाको आईसीटी सामग्री सहयोग


नुवाकोट — भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई गैरआवासीय नेपाली संघ ९एनआरएनए० अष्ट्रेलियाले आवश्यक आईसीटी सामग्री सहयोग गरेको छ।

भोटेकोशी बाढीका कारण विद्यालयको भौतिक पूर्वाधारमा ठूलो क्षति पुग्नुका साथै विद्यार्थीको नियमित पठनपाठनसमेत प्रभावित भएको अवस्थामा एनआरएनए अष्ट्रेलियाले आधुनिक शिक्षाका लागि आवश्यक सूचना तथा सञ्चार प्रविधि ९क्ष्ऋत्० सामग्री उपलब्ध गराएको हो।

विद्यालयका प्रधानाध्यापक रगेन्द्र दवाडीले एनआरएनए अष्ट्रेलियाको सहयोगप्रति विद्यालयका विद्यार्थी, शिक्षक तथा व्यवस्थापन समितिको तर्फबाट गहिरो आभार व्यक्त गरेका छन्।

प्रधानाध्यापक दवाडीले बाढीपछि विद्यालय कठिन परिस्थितिबाट गुज्रिरहेका बेला एनआरएनए अष्ट्रेलियाको तत्काल सहयोगले विद्यार्थी तथा शिक्षकमा नयाँ आशा जगाएको बताएका छन्।

आईसीटी सामग्रीको सहयोगले बाढीका कारण सिर्जित कठिन परिस्थितिका बाबजुद विद्यार्थीलाई डिजिटल शिक्षाबाट पछाडि पर्न नदिने र कक्षाकोठामा आधुनिक शिक्षण सिकाइलाई निरन्तरता दिन महत्वपूर्ण सहयोग पुगेको विद्यालयले जनाएको छ।

विद्यालयले अष्ट्रेलियामा रहेका नेपाली समुदायले विपद्को समयमा देखाएको ऐक्यबद्धता र सहयोगले आफूहरूलाई भावनात्मक रूपमा समेत उत्साहित बनाएको जनाएको छ।

प्रधानाध्यापक दवाडीले नेपालमा शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने एनआरएनए अष्ट्रेलियाको प्रतिबद्धता र पहलको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सामुदायिक तथा शैक्षिक अभियानलाई निरन्तरता दिन शुभकामना दिएका छन्।

भोटेकोशी बाढीबाट प्रभावित समुदायको पुनःस्थापना तथा राहतका लागि अष्ट्रेलियास्थित नेपाली संघसंस्था र समुदायले विभिन्न माध्यमबाट सहयोग गर्दै आएका छन्। त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा गरिएको आईसीटी सामग्री सहयोगलाई विपद्पछिको शैक्षिक पुनःस्थापनातर्फको महत्वपूर्ण पहलका रूपमा लिइएको छ।