मेलबर्नमा ईन्द्रजात्रा मनाईँदै, दुईवटा रथ यस पटकको आकर्षण

मेलबर्नमा ईन्द्रजात्रा मनाईँदै, दुईवटा रथ यस पटकको आकर्षण

२६ सेप्टेम्बर शनिबार मेलबर्नको नेपाली मन्दिरमा ईन्द्रजात्राको आयोजना, बालबालिका लक्षित विविध गतिविधि पनि



मेलबर्न अष्ट्रेलिया । आगामी २६ सेप्टेम्बर शनिबार मेलबर्नको नेपाली मन्दिर अर्थात् अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरमा दोश्रो पटक ईन्द्रजात्राको आयोजना हुने भएको छ । ईन्द्रजात्राको तयारी चलिरहेको बेला यस सम्बन्धमा जानकारी दिने उद्देश्यले शनिबार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यस पटकको ईन्द्रजात्रामा यस पटक कुमारीका साथै गणेशको रथ समेत तयार गरिँदैछ ।

अघिल्लो वर्षबाट मेलबर्नमा सुरु गरिएको ईन्द्रजात्रामा यस पटक थप आकर्षणका रुपमा गणेशको समेत रथ तान्ने तयारी गरिएको हो । अष्ट्रेलियामा नेपालमै जस्तो प्रत्यक्ष रथ तानेरै ईन्द्रजात्रा मनाईएको यो पहिलो अवसर हो । आयोजक संस्था नेवा गुथी भिक्टोरियाका अध्यक्ष माया सुवालले महिनौंदेखि पुलुकिसी नाच, धिमे बाजा बजाउने टोलीले तयारी गरिरहेको जानकारी दिए । उनले चीरकालसम्म पनि जात्रालाई निरन्तरता दिने उद्देश्यले रथ निर्माण गरिएको बताए । उनले भने, “यस वर्षको उत्सवमा विभिन्न समूदायका मानिसहरुलाई नेपालको धार्मिक, सांस्कृति र परम्पराको प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त हुनेछ । ईन्द्रजात्रा २०२६ ले नेपाली अष्ट्रेलियाली व्यापक समूदायबीच सांस्कृतिक सम्बन्ध अझ बलियो बनाउँदै अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपालको सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने अपेक्षा छ ।”


पत्रकार सम्मेलनमा नेवा गुठी मेलबर्नका सल्लाहकार राजन मास्केले ईन्द्रजात्राको ऐतिहासिकताबारे प्रकाश पारेका थिए । उनले अष्ट्रेलियाको बहुसांस्कृतिक वातावरणमा नेपालको विशिष्ठ सांस्कृतिक सम्पदालाई प्रबद्र्धन गर्नुपर्न आवश्यकता औंल्याएका थिए ।

सामूदायिक अगुवा पियुश कायस्थले ईन्द्रजात्रा आयोजना गर्दा आइपर्ने समस्या, तिनको समाधान, रथ निर्माण, यहाँको कानूनी र सुरक्षा मापदण्ड लगायतमा ध्यान दिनुपर्ने विचार राखेका थिए ।

यस्तै भिक्टोरियाका लागि पूर्व नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौलीले मेलबर्नमा नेपालको महत्वपूर्ण सांस्कृतिक परम्परा प्रस्तुत गर्न नेवा गुठीले गरेको प्रयास अतुलनीय रहेको बताएका थिए । एनआरएन भिक्टोरियाका संयोजक महादेव धानुकले नेपाली समूदायको पहिचान संरक्षण र प्रबद्र्धनको यो कार्यमा साथ दिने धारणा राखेका थिए । एक्त अवसरमा बालचौतारीका अध्यष राजीव वाग्ले, मेलबर्न नेप्लीज कम्युनिटी वेष्टका अध्यक्ष विक्रम शर्मा पंगेनी, समूदायका नेता शंकर धरेल लगायतले अष्ट्रेलियामा हुर्किदै गरेको दोश्रो पुस्ताको लागि पनि यस किसिमको जात्राको आयोजना महत्वपूर्ण हुने बताएका थिए ।

ईन्द्रजात्रा अर्थात् येंया पुन्ही, नेपालको विशेषगरी काठमाडौं उपत्यका र यहाँ बसोबास गर्ने नेवार समूदायसँग सम्बन्धित प्रचीन जात्रा हो । यस जात्रामा धार्मिक परम्परा, सांस्कृतिक प्रस्तुति, परम्परागत संगीत तथा नृत्य, विभिन्न जात्रा तथा शोभायात्रा देख्न पाइन्छ । अष्ट्रेलियामा ईन्द्रजात्राको निरन्तरताले नेपाली अष्ट्रेलियाली समूदायलाई आफ्नो सांस्कृतिक सम्पदा र परम्परा दोश्रो पुस्तामा हस्तान्तरण गर्ने मात्र नभई नेपालको सम्बृद्ध संस्कृतिलाई विश्वमञ्चमा चिनाउन समेत मद्दत पुग्ने अपेक्षा छ ।

ईन्द्रजात्रा आयोजनास्थल मेलबर्नको नेपाली मन्दिर परिसरमा त्यस दिन बालबालिकाहरुको लागि विभिन्न गतिविधि पनि सञ्चालन गर्ने, खानाका स्टलहरुका साथै सांगीतिक प्रस्तुतिहरुले पनि उल्लासमय बनाउने योजना आयोजकको छ ।