काठमाडौँ । नेपाली कांग्रेसले नेता प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गर्दै तीन दिन पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ।
पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले नेता गिरिको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
बैठकले ५, ६ र ७ भदौ तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको मुख्य सचिव पौडेलले जानकारी दिए।
उनका अनुसार बैठकले ६ भदौ सोमबार केन्द्र तथा मातहतका सबै कार्यालयहरु बन्द गर्ने, १३औं दिन १६ भदौसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १६ भदौसम्म केन्द्र र सबै जिल्लाहरुमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया