नेपालका बाढीपीडितको सम्झनामा तास्मानिया संसद भवनको प्राङ्गणमा दीप प्रज्वलन, राजनीतिक नेतृत्वको ऐक्यबद्धता

नेपालका बाढीपीडितको सम्झनामा तास्मानिया संसद भवनको प्राङ्गणमा दीप प्रज्वलन, राजनीतिक नेतृत्वको ऐक्यबद्धता


होबार्ट, तास्मानिया। नेपालमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाहरूको सम्झनामा तास्मानियाको नेपाली समुदायले बुधबार साँझ तास्मानिया संसद भवनको प्राङ्गणमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा तास्मानियाका प्रिमियर जेरेमी रक्लिफ, विपक्षी दलका नेता जोश विली र ग्रिन्स नेतृ रोजाली वुडरफ सहभागी हुँदै बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उनीहरूले प्रभावित परिवार, नेपाली समुदाय तथा नेपाली जनताप्रति दुःख र ऐक्यबद्धता व्यक्त गरेका थिए।

नेपाली समुदाय तथा विभिन्न सहयोगी संस्थाहरूको आयोजनामा भएको कार्यक्रममा नेपाली परम्पराअनुसार धार्मिक विधिसहित मृतकहरूको सम्झनामा दीप प्रज्वलन गरिएको थियो।

कार्यक्रममा एनआरएनए तास्मानिया, नेपाली सोसाइटी अफ तास्मानिया, टीएनसीए, नेपाली सोसाइटी अफ नर्दर्न तास्मानिया, नेपाली तास्मानियन स्पोर्ट्स एसोसिएसन, फेन्का, एनबीए तास्मानिया लगायत तास्मानियामा सक्रिय विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, नेपाली समुदायका अगुवा तथा विभिन्न बहुसांस्कृतिक समुदायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

एनआरएनए तास्मानियाका संयोजक सुजन वाग्लेले संसद बैठक चलिरहेको व्यस्त दिनमा समेत कार्यक्रममा उपस्थित भएर नेपालको दुःखमा साथ र ऐक्यबद्धता जनाएकोमा तास्मानियाका राजनीतिक नेतृत्व तथा विभिन्न बहुसांस्कृतिक समुदायका प्रतिनिधिहरूप्रति आभार व्यक्त गरे।

वाग्लेले भौगोलिक रूपमा नेपालबाट हजारौँ किलोमिटर टाढा रहे पनि तास्मानियामा रहेका नेपालीहरूको मन मातृभूमि र विपद्बाट प्रभावित परिवारहरूसँग रहेको बताए।

प्रिमियर जेरेमी रक्लिफले पछिल्ला दुई दिनदेखि तास्मानियाको संसदले एकमत भएर नेपालमा भएको मानवीय क्षतिप्रति दुःख तथा समवेदना व्यक्त गरेको बताए।

उनले बाढीले घर तथा सिंगो समुदाय बगाएको, धेरै परिवार विस्थापित भएको र खोज तथा उद्धारकर्मीहरूले अत्यन्त कठिन परिस्थितिमा काम गरिरहेको उल्लेख गरे।

विपक्षी दलका नेता जोश विलीले बाढी र पहिरोका कारण नेपालमा भएको विनाशप्रति गहिरो दुःख व्यक्त गर्दै तास्मानियाको संसद नेपाली समुदायसँग एकताबद्ध रहेको बताए। उनले नेपालमा रहेका प्रभावित परिवार र समुदायप्रति साथ र समवेदना व्यक्त गरे।

ग्रिन्स नेतृ रोजाली वुडरफले बाढीका कारण गाउँ, विद्यालय, स्वास्थ्य संस्था तथा विद्युतलगायतका पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गरिन्।

उनले नेपालको पुनर्निर्माणमा अर्बौं डलर र लामो समय लाग्न सक्ने बताउँदै आपत्कालीन राहतका लागि उदारतापूर्वक सहयोग गर्न तास्मानियावासीलाई आग्रह गरिन्। संकलित सम्पूर्ण सहयोग रकम नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने जनाइएको छ।

विपद्को कठिन समयमा सानो वा ठूलो हरेक सहयोग महत्वपूर्ण हुने भन्दै नेपाली समुदायले प्रभावितहरूको राहत तथा पुनर्निर्माणका लागि सक्दो सहयोग गर्न आग्रह गरेको छ।

तस्बिर स्रोत: आशिष फोटोग्राफी