काठमाडौं । रसुवालगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित विद्यार्थीहरूको शिक्षालाई निरन्तरता दिन तथा क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले ग्रेस इन्टरनेशनल ग्रुपले २५ लाख रुपैयाँ सहयोग गरेको छ।
बाढीका कारण रसुवालगायत विभिन्न क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको छ। प्रभावित परिवारसँगै विद्यार्थी तथा शैक्षिक संस्थाहरूले समेत कठिन परिस्थितिको सामना गरिरहेका बेला ग्रेस इन्टरनेशनल ग्रुपले शिक्षा क्षेत्रलाई लक्षित गर्दै उक्त सहयोग उपलब्ध गराएको हो।
ग्रेस इन्टरनेशनल ग्रुपका सह–संस्थापक एन्ड्रयू पौडेलले शिक्षामन्त्री सस्मित पोखरेलसँग भेट गरी समूहका तर्फबाट २५ लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका छन्।

ग्रेस इन्टरनेशनल ग्रुपका अनुसार बाढीबाट प्रभावित विद्यार्थीहरूको पठनपाठनलाई निरन्तरता दिन, उनीहरूको शैक्षिक भविष्य सुरक्षित गर्न तथा क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माण र शैक्षिक वातावरण पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।
“दान होइन, दायित्व; उपकार होइन, उत्तरदायित्व” भन्ने भावनासहित विपद्को कठिन घडीमा प्रभावित विद्यार्थी, विद्यालय तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको ग्रेस इन्टरनेशनल ग्रुपले जनाएको छ।
शिक्षा क्षेत्रमा लामो समयदेखि क्रियाशील ग्रेस इन्टरनेशनल ग्रुपले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न गतिविधि गर्दै आएको उल्लेख गर्दै विपद्का कारण कुनै पनि विद्यार्थीको शिक्षा अवरुद्ध हुन नदिन आवश्यकताअनुसार आगामी दिनमा समेत सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
समूहले विपद्का बेला प्रभावित बालबालिकाको शिक्षामा साथ दिनु केवल आर्थिक सहयोग नभई उनीहरूको भविष्यप्रतिको जिम्मेवारीसमेत भएको उल्लेख गरेको छ।

प्रतिक्रिया