रसुवाको बाढीपीडितका लागि एक्सपर्ट फाउन्डेसनद्वारा २० लाख रुपैयाँ सहयोग

रसुवाको बाढीपीडितका लागि एक्सपर्ट फाउन्डेसनद्वारा २० लाख रुपैयाँ सहयोग


काठमाडौं । रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले एक्सपर्ट फाउन्डेसनमार्फत २० लाख रुपैयाँ सहयोग गरेको छ।

एक्सपर्ट फाउन्डेसनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै खोज तथा उद्धार र प्रभावित समुदायको पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको हो।

फाउन्डेसनका अनुसार उक्त सहयोग राज्यको समन्वयमा सञ्चालन हुने खोज तथा उद्धार, तत्काल राहत वितरण तथा दीर्घकालीन सामुदायिक पुनःस्थापनाका कार्यमा उपयोग हुनेछ।

यसै विषयमा केबीसी खबरले एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसका निर्देशक बद्री अर्यालसँग कुराकानी गरेको छ। कुराकानीका क्रममा अर्यालले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको बताउँदै एक्सपर्ट फाउन्डेसनले आफ्नो क्षमताअनुसार सहयोग गरेको जानकारी दिए।

अर्यालले रसुवामा बाढीका कारण प्रभावित भएका परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे। उनले विपद्को समयमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, सरकारी निकाय, स्थानीय तह तथा स्वयंसेवकहरूको योगदानको समेत प्रशंसा गरे।

एक्सपर्ट फाउन्डेसनले बाढीबाट प्रभावित समुदायलाई तत्काल राहतसँगै आवश्यकताअनुसार दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

फाउन्डेसनले विपद्को समयमा गरिने सहयोग पारदर्शी र उत्तरदायी रूपमा प्रभावित नागरिकसम्म पुग्नुपर्नेमा जोड दिँदै राष्ट्रिय विपद् पुनःस्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्व निरन्तर निर्वाह गर्ने जनाएको छ।

भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै एक्सपर्ट फाउन्डेसनले राहत तथा पुनःस्थापनाका लागि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।