काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले तत्काल २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
मञ्चका अध्यक्ष रमेश पाण्डेले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, बाढी तथा पहिरो प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन अन्तर्राष्ट्रिय कमिटीको कोषबाट रु. २० लाख उपलब्ध गराउने निर्णय गरिएको हो।
प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मञ्चले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, प्रभावित तथा विस्थापित परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै विपद्को यस कठिन समयमा मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न प्रतिबद्ध रहेको जनाएको छ।
मञ्चका अनुसार उपलब्ध गराइने रकम बाढी तथा पहिरो प्रभावित क्षेत्रमा नागरिकहरूको तत्काल आवश्यकतालाई प्राथमिकतामा राखेर राहत तथा सहयोगमा परिचालन गरिनेछ। सहयोग वास्तविक पीडितसम्म प्रभावकारी, न्यायोचित र पारदर्शी रूपमा पुग्ने सुनिश्चितताका लागि सम्बन्धित निकाय तथा आवश्यक संयन्त्रसँग समन्वय गरिने पनि विज्ञप्तिमा उल्लेख छ।
प्रवासी नेपाली मञ्चले नेपालमा प्राकृतिक विपत्ति, महामारी तथा मानवीय संकटका समयमा विगतदेखि नै राहत तथा पुनर्निर्माणका क्षेत्रमा योगदान गर्दै आएको जनाएको छ। कोभिड–१९ महामारीका क्रममा पोखरास्थित गण्डकी अस्पतालमा करिब ३ करोड रुपैयाँको लगानीमा अक्सिजन प्लान्ट स्थापना गरिएको तथा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा करिब १ करोड रुपैयाँको लागतमा स्वास्थ्य चौकी निर्माण गरिएको मञ्चले स्मरण गराएको छ।
मञ्चले तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापनामा समेत योगदान पुर्याउँदै आएको उल्लेख गर्दै अब ‘नेपाल बाढी तथा पहिरो पीडित राहत सहयोग अभियान’ विश्वव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
अभियानमार्फत विश्वभर रहेका मञ्चका महादेश तथा राष्ट्रिय कमिटी, सदस्य, शुभेच्छुक, नेपाली व्यवसायी, सामाजिक तथा सामुदायिक संघसंस्था र सम्पूर्ण नेपाली समुदायलाई राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न आह्वान गरिएको छ।
मञ्चले प्रवासमा रहेका नेपालीहरूको सानो–सानो सहयोगले पनि विपद्मा परेका परिवारलाई ठूलो राहत पुग्ने भन्दै आफ्नो क्षमताअनुसार सहयोग गर्न सबै नेपालीलाई अपिल गरेको छ।
Photo Note : AI Generated with Gemini

प्रतिक्रिया