मेलबर्न । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नेपालमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि पहिलो चरणमा संकलित ४१ हजार ९३ अष्ट्रेलियन डलर नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ। उक्त रकम करिब ४५ लाख १२ हजार ७३९ नेपाली रुपैयाँ बराबर रहेको एनआरएनए अष्ट्रेलियाले जनाएको छ।
एनआरएनए अष्ट्रेलियाले आज जारी गरेको विज्ञप्तिअनुसार, अष्ट्रेलियामा रहेका नेपाली समुदाय, विभिन्न संघसंस्था, व्यवसायी तथा नेपालप्रति सद्भाव राख्ने व्यक्तिहरूको सहयोगमा आपत्कालीन गोफन्डमी अभियान सञ्चालन गरी उक्त रकम संकलन गरिएको हो।
नेपालका रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति, विस्थापन तथा भौतिक संरचना ध्वस्त भएपछि एनआरएनए अष्ट्रेलियाले राहत कोष संकलन अभियान सुरु गरेको थियो ।
अभियानमा कुल ३४८ जना व्यक्तिहरुबाट सहयोग प्राप्त भएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ। नेपाली समुदाय तथा नेपालका शुभेच्छुकहरूको सहभागिताबाट संकलित रकममध्ये ४१ हजार ९३ अष्ट्रेलियन डलर २८ अगस्ट २०२६ मा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अनलाइनमार्फत बुझाइएको विज्ञप्तिमा उल्लेख छ।


एनआरएनए अष्ट्रेलियाले अभियानमा सहयोग गर्ने सबै व्यक्ति, संस्था तथा व्यवसायप्रति आभार व्यक्त गर्दै प्रत्येक सहयोगले विपद्बाट प्रभावित परिवार तथा समुदायप्रतिको नेपाली डायस्पोराको ऐक्यबद्धता र मानवीय भावना प्रतिबिम्बित गरेको जनाएको छ।
संघले अभियानमार्फत प्राप्त हुने थप रकमसमेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिने स्पष्ट पारेको छ।
एनआरएनए अष्ट्रेलियाले विपद्को यस कठिन घडीमा नेपाल र नेपाली समुदायको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकाय तथा सामुदायिक संस्थाहरूसँग सहकार्य जारी राख्ने जनाएको छ।
बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति एनआरएनए अष्ट्रेलियाले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

प्रतिक्रिया