अस्ट्रेलिया। रसुवासहित नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोपछि अस्ट्रेलियन सरकारले प्रभावित समुदायको तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका लागि ५ मिलियन अस्ट्रेलियन डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङले शुक्रबार बिहान अस्ट्रेलियन सञ्चारमाध्यमसँग कुरा गर्दै नेपालमा उत्पन्न विपद्लाई भयावह मानवीय संकटका रूपमा उल्लेख गर्दै अस्ट्रेलियाले कन्सुलर तथा मानवीय सहयोग तीव्र रूपमा परिचालन गरिरहेको जानकारी दिएकी छन्।
अस्ट्रेलियन सरकारका अनुसार ५ मिलियन डलरको सहायता प्याकेजमध्ये २ मिलियन डलर विश्व खाद्य कार्यक्रममार्फत, अर्को २ मिलियन डलर अस्ट्रेलियन ह्युम्यानिटेरियन पार्टनरसिपअन्तर्गत कार्यरत अस्ट्रेलियन गैरसरकारी संस्थामार्फत र बाँकी १ मिलियन डलर इमर्जेन्सी एक्सन एलायन्समार्फत उपलब्ध गराइनेछ।
यो सहयोगबाट बाढी प्रभावित समुदायलाई खाद्यान्न, आपत्कालीन आश्रय, स्वच्छ पानी तथा सरसफाइ, स्वास्थ्य तथा चिकित्सा सहयोग, हाइजिन सामग्री, कम्बल र मनोसामाजिक सहयोग लगायतका अत्यावश्यक सेवा उपलब्ध गराइनेछ।
विदेशमन्त्री वङले बाढीले सीमाका दुवैतर्फका समुदायलाई तहसनहस बनाएको, गाउँहरू बगाएको, महत्वपूर्ण पूर्वाधारमा क्षति पुर्याएको र हजारौं मानिसलाई विस्थापित बनाएको बताएकी छन्।

अस्ट्रेलियाले आर्थिक सहयोगसँगै नेपालमा थप जनशक्तिसमेत परिचालन गर्दैछ। प्रारम्भिक रूपमा तीन जना मानवीय प्रतिकार्य विशेषज्ञको टोली आगामी ४८ घण्टाभित्र पठाइने अस्ट्रेलियन सरकारले जनाएको छ। उक्त टोलीमा बन्दोबस्ती, मानवीय सहायता, सञ्चार तथा योजना निर्माणसम्बन्धी विशेषज्ञता भएका व्यक्तिहरू रहनेछन्।
विदेशमन्त्री वङका अनुसार नेपालमा हाल करिब २० जना अस्ट्रेलियन अधिकारी कार्यरत छन्। उनीहरूलाई सहयोग गर्न थप चार जना अधिकारी आगामी २४ घण्टाभित्र पठाइँदैछन् भने त्यसपछि अर्को विशेषज्ञ टोली पनि परिचालन गरिनेछ।
३९ अस्ट्रेलियन अझै सम्पर्कविहीन
यसैबीच, विपद्पछि सम्पर्कविहीन अस्ट्रेलियन नागरिकको संख्या बढेर ३९ पुगेको विदेशमन्त्री वङले पुष्टि गरेकी छन्। अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागले हाल यस विपद्सँग सम्बन्धित ४३ वटा कन्सुलर मामिला हेरिरहेको छ।
वङले सम्पर्कविहीन अस्ट्रेलियन नागरिकहरूको अवस्था यकिन गर्न अधिकारीहरूले तत्काल काम गरिरहेको बताउँदै यो संख्या अझै बढ्न सक्ने सम्भावनासमेत रहेको उल्लेख गरेकी छन्।
उनले विपद् प्रभावित क्षेत्रमा रहेका अस्ट्रेलियनहरूको खोजी गर्नु, नेपालमा थप अस्ट्रेलियन अधिकारी परिचालन गर्नु र प्रभावित समुदायलाई मानवीय सहयोग उपलब्ध गराउनु अहिले सरकारका प्रमुख प्राथमिकता रहेको बताएकी छन्।
विदेशमन्त्री वङले शुक्रबार नेपालका परराष्ट्रमन्त्रीसँग कुराकानी गर्ने तयारी रहेको र नेपाललाई अस्ट्रेलियाबाट थप कस्तो सहयोग आवश्यक छ भन्ने विषयमा समेत छलफल गरिने जानकारी दिएकी छन्।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले पनि नेपाल–चीन बाढीबाट प्रभावितप्रति सहानुभूति व्यक्त गर्दै अस्ट्रेलियाले विपद् तथा मानवीय प्रतिकार्य विशेषज्ञहरू पठाइरहेको बताएका छन्।
प्रधानमन्त्री अल्बानिजीका अनुसार अस्ट्रेलियाले खाद्यान्न, आपत्कालीन आश्रय तथा चिकित्सा सहयोग उपलब्ध गराउँदै बेपत्ता अस्ट्रेलियन नागरिकहरूको अवस्था यकिन गर्न तत्काल काम गरिरहेको छ।


विदेशमन्त्री वङले आफ्ना प्रियजनको अवस्था थाहा नपाएर प्रतीक्षामा रहेका परिवारका लागि यो समय अत्यन्त पीडादायी रहेको बताउँदै अस्ट्रेलियामा रहेका नेपाली तथा तिब्बती समुदायप्रति पनि आफ्नो साथ र सहानुभूति रहेको उल्लेख गरेकी छन्।
आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकले विदेश मामिला तथा व्यापार विभागको कन्सुलर इमर्जेन्सी सेन्टरमा अस्ट्रेलियाभित्रबाट १३०० ५५५ १३५ तथा विदेशबाट +६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्न सक्नेछन्।
नेपालका विपद् प्रभावितलाई सहयोग गर्न चाहने अस्ट्रेलियावासीले इमर्जेन्सी एक्सन एलायन्स मार्फत सहयोग गर्न सक्ने अस्ट्रेलियन सरकारले जनाएको छ।

प्रतिक्रिया