बाढी–पहिरोको पीडामा नेपाल : एनआरएनए अस्ट्रेलियाले गोफन्डमीमार्फत जुटायो १६ हजार डलरभन्दा बढी सहयोग

बाढी–पहिरोको पीडामा नेपाल : एनआरएनए अस्ट्रेलियाले गोफन्डमीमार्फत जुटायो १६ हजार डलरभन्दा बढी सहयोग


मेलबर्न, अस्ट्रेलिया । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण देश यतिबेला गम्भीर मानवीय संकटमा परेको छ। रसुवासहित विभिन्न जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। हालसम्म प्राप्त विवरणअनुसार १६२ जनाले ज्यान गुमाइसकेका छन् भने अझै केही व्यक्ति बेपत्ता रहेकाले मृतकको संख्या थप बढ्न सक्ने आशंका गरिएको छ। बाढी तथा पहिरोले घरबार, सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ।

यस कठिन परिस्थितिमा उद्धार, राहत तथा प्रभावित परिवारलाई सहयोग पुर्‍याउन नेपालभित्र र विदेशमा रहेका नेपाली समुदाय सक्रिय भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि विपद्पछिको उद्धार तथा राहत अभियानलाई प्राथमिकताका साथ अगाडि बढाएको छ।

एनआरएनएले ५ करोड रुपैयाँको उद्धार तथा राहत सहायता कोष स्थापना गरेको छ। एनआरएनए आईसीसीका अध्यक्ष हेमराज शर्मा प्रभावित क्षेत्रको अवस्था प्रत्यक्ष रूपमा बुझ्न, स्थानीय समुदाय तथा पीडित परिवारसँग भेटघाट गर्न र आवश्यक राहत तथा सहयोगको अवस्थाबारे जानकारी लिन रसुवातर्फ लागेका छन्। प्रभावित क्षेत्रमा तत्काल आवश्यक सहयोग पहिचान गरी राहत अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले एनआरएनए नेतृत्वले स्थलगत अवस्थाको जानकारी लिइरहेको छ।

एनआरएनए अस्ट्रेलियाको अभियानमा १६ हजार डलरभन्दा बढी संकलन

यता, मातृभूमिमा परेको विपत्तिप्रति ऐक्यबद्धता जनाउँदै गैरआवासीय नेपाली संघ अस्ट्रेलिया (एनआरएनए अस्ट्रेलिया) ले गोफन्डमीमार्फत आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको छ। अभियानमा अस्ट्रेलियास्थित नेपाली समुदायको उल्लेखनीय सहभागिता देखिएको छ।

गम्भीर मानवीय क्षतिको यस घडीमा एनआरएनए अस्ट्रेलियाले सञ्चालन गरेको अभियानमा हालसम्म १६ हजार अस्ट्रेलियन डलरभन्दा बढी रकम संकलन भइसकेको छ। सहयोग संकलन अभियान अझै जारी रहेको छ।

एनआरएनए अस्ट्रेलियासँगै अस्ट्रेलियामा क्रियाशील अन्य विभिन्न नेपाली सामाजिक तथा सामुदायिक संघसंस्थाहरू पनि राहत र सहयोग अभियानमा जोडिएका छन्।

फेडरेसन अफ नेप्लीज कम्युनिटी एसोसिएसन्स अफ अष्ट्रेलिया (फेन्का) ले नेपालको विपद्को अवस्थामा सहयोग गर्न अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी नेतृत्वको सरकारलाई आह्वान गरेको छ। त्यसैगरी, विभिन्न नेपाली संघसंस्थाले गोफन्डमी तथा अन्य माध्यमबाट आर्थिक सहयोग जुटाउने अभियान सुरु गरेका छन्।

यसैबीच, एसोसिएसन अफ नेपाल तराईन इन अष्ट्रेलिया (एन्टा) ले पनि आफ्नै खातामार्फत बाढी तथा पहिरो प्रभावितका लागि सहयोग संकलन सुरु गरेको छ। अन्य राज्य तथा सहरमा क्रियाशील नेपाली संघसंस्थाहरूले समेत राहत सहयोगका लागि समुदायलाई आह्वान गरिरहेका छन्।

मेलबर्नमा दिवंगतको सम्झनामा दीप प्रज्वलन

यसैबीच, आज साँझ मेलबर्नस्थित नेपाली मन्दिरमा अस्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टर (एएनएमसी) ले बाढी तथा पहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्ने भएको छ।

कार्यक्रममार्फत दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिनेछ। साथै, विपद्मा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सकुशल उद्धारको कामना गरिनेछ।अस्ट्रेलियाका विभिन्न राज्य तथा टेरिटोरीहरूमा पनि नेपाली संघसंस्थाहरूले यस्तै श्रद्धाञ्जली तथा समवेदना कार्यक्रम आयोजना गर्ने भएका छन्।

नेपालमा परिवार, आफन्त वा चिनजानका व्यक्ति प्रत्यक्ष प्रभावित नभए पनि यो विपत्ति अहिले सम्पूर्ण नेपाली समुदायको साझा पीडा बनेको छ। हजारौँ किलोमिटर टाढा रहेर पनि अस्ट्रेलियाका नेपालीहरूले आर्थिक सहयोग, सूचना सम्प्रेषण, प्रार्थना तथा सामुदायिक समन्वयमार्फत मातृभूमिप्रतिको जिम्मेवारी र ऐक्यबद्धता प्रस्तुत गरिरहेका छन्।