अष्ट्रेलियाका ८ प्रमुख सहरमा ‘नारी निकुञ्ज तीज उत्सव २०२६’, रचना रिमालको विशेष प्रस्तुति

अष्ट्रेलियाका ८ प्रमुख सहरमा ‘नारी निकुञ्ज तीज उत्सव २०२६’, रचना रिमालको विशेष प्रस्तुति


अष्ट्रेलिया। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाअन्तर्गतको एनआरएनए वुमन फोरम–नारी निकुञ्ज अष्ट्रेलियाको आयोजनामा यस वर्ष पनि ‘नारी निकुञ्ज तीज उत्सव २०२६’ अष्ट्रेलियाका ८ प्रमुख सहरमा आयोजना हुने भएको छ।

नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजलाई नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनसँगै महिला सशक्तीकरण, सामाजिक उत्तरदायित्व र परोपकारी अभियानसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नारी निकुञ्जले जनाएको छ।

यस वर्षको तीज उत्सवलाई नारी निकुञ्जले लामो समयदेखि सहयोग गर्दै आएको पाठेघर खस्ने समस्या (युटेरिन प्रोल्याप्स) सम्बन्धी अभियानसँग समेत जोडिएको छ। विशेषगरी नेपालका ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायका महिलालाई लक्षित गरी उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने अभियानमा कार्यक्रमबाट संकलित सहयोगको केही हिस्सा प्रयोग गरिने जनाइएको छ। नारी निकुञ्जले विगतदेखि नै अष्ट्रेलियामा विभिन्न कार्यक्रममार्फत यस अभियानका लागि सहयोग जुटाउँदै आएको छ।

एनआरएनए वुमन फोरम–नारी निकुञ्ज अष्ट्रेलियाकी राष्ट्रिय महिला संयोजक रिज्नू अधिकारीका अनुसार तीज उत्सवलाई नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनसँगै सामाजिक सेवासँग जोड्ने प्रयास गरिएको हो।

अष्ट्रेलियाका विभिन्न राज्य तथा टेरिटोरीमा आयोजना हुने कार्यक्रमका मिति र स्थान तय गरिएको छ। कार्यक्रमहरू सम्बन्धित एनआरएनए राज्य समन्वय परिषद् (एससीसी) तथा नारी निकुञ्जका राज्यस्तरीय टोलीहरूको सहकार्यमा सञ्चालन हुने जनाइएको छ।

यस वर्षको तीज उत्सवको प्रमुख आकर्षण नेपालकी चर्चित गायिका रचना रिमाल रहनेछिन्। रिमालले अष्ट्रेलियाका विभिन्न राज्य तथा टेरिटोरीमा आयोजना हुने नारी निकुञ्ज तीज उत्सवमा सहभागी हुँदै आफ्ना लोकप्रिय गीतमार्फत सांगीतिक प्रस्तुति दिनेछिन्। यद्यपि, तस्मानियामा आयोजना हुने कार्यक्रममा रचना रिमालको प्रस्तुति भने रहने छैन।

नेपाली आधुनिक तथा लोकसंगीतमा पछिल्लो पुस्ताकी लोकप्रिय गायिकाका रूपमा स्थापित रिमालका ‘फोटो फिरिममा’, ‘मिनरल वाटर’, ‘ऊनको स्वीटर’ र ‘पानी छम्किने’ लगायतका गीत श्रोतामाझ लोकप्रिय छन्। उनको सहभागिताले यस वर्षको तीज उत्सवलाई थप सांगीतिक र आकर्षक बनाउने अपेक्षा गरिएको छ।

नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनसँगै सामाजिक सेवाको उद्देश्य बोकेको ‘नारी निकुञ्ज तीज उत्सव २०२६’ ले अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई एकै ठाउँमा जोड्नुका साथै नेपालमा सहयोग आवश्यक रहेका महिलाका लागि समेत योगदान पुर्‍याउने आयोजकको विश्वास छ।