एडिलेड, अष्ट्रेलिया। साउथ अष्ट्रेलियामा नेपाली समुदायको पुरानो संस्थामध्ये एक एडिलेड नेपाली समाज अष्ट्रेलिया इन्कको सातौँ द्विवार्षिक साधारण सभा शनिबार, २२ अगष्ट २०२६ मा सम्पन्न भएको छ। साधारण सभाले आगामी कार्यकाल २०२६–२०२८ का लागि बालगोपाल उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी सापकोटा आचार्य र हिमाल कँडेल (पदेन, प्राचार्य–एडिलेड नेपाली विद्यालय), सचिवमा प्रदीप निरौला, उपसचिवमा विकास पौडेल, कोषाध्यक्षमा पुष्पा बन्जाडे तथा जनसम्पर्क अधिकृतमा सुरेन्द्र रेग्मी चयन भएका छन्।
त्यस्तै कार्यसमिति सदस्यहरूमा श्याम दहाल (निवर्तमान अध्यक्ष), विकास पौडेल, रामकृष्ण शर्मा, बन्धु विक्रम कार्की, खगेन्द्र सत्याल, दीपा दहाल र बाल सापकोटा रहेका छन्।

स्थानीय फ्रेस चुल्हो नेपाली रेष्टुरेन्टको सभाहलमा आयोजित साधारण सभाको खुला सत्र निवर्तमान अध्यक्ष श्याम दहालको अध्यक्षता तथा सचिव सागर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष बालगोपाल उपाध्यायले स्वागत मन्तव्य राखेका थिए।
साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्काले एडिलेड नेपाली समाजले नेपाली समुदायमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेकी थिइन्।
कार्यक्रममा एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक थीर गुरुङ तथा एडिलेड नेप्लिज क्रिकेट एशोसिएसन एवं ओशियाना मिट २०२७ का अध्यक्ष विजय जोशीले समाजले नेपाली समुदायमा पुर्याएको योगदानको चर्चा गर्दै साधारण सभा सफलताको शुभकामना व्यक्त गरेका थिए।
सभाले निवर्तमान अध्यक्ष श्याम दहालले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष आनन्द वखरेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा एडिलेड नेपाली विद्यालयका प्राचार्य हिमाल कँडेलले प्रस्तुत गरेको विद्यालयको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो।
सोही अवसरमा सार्वजनिक गरिएको एडिलेड नेपाली समाजको नयाँ वेबसाइटका बारेमा वेबसाइट निर्माण समितिका संयोजक सूर्य आचार्यले जानकारी गराएका थिए।
नयाँ नेतृत्व चयनका लागि साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्का, एनआरएनए ओशियाना संयोजक रमेश जोशी, फेड्रेसन अफ नेप्लिज कम्युनिटी अर्गनाइजेसन अफ अष्ट्रेलिया (फेन्का) का उपाध्यक्ष कपिल पाण्डे, एनआरएनए ओशियानाका पूर्व सहसंयोजक नवीन कँडेल तथा एडिलेड नेपाली समाजकी पूर्वअध्यक्ष एवं हेल्प नेपाल अष्ट्रेलियाकी अध्यक्ष सन्तोषी गौतम सम्मिलित निर्वाचन समिति गठन गरिएको थियो।
निर्वाचन प्रक्रिया सम्पन्न भएपछि नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति सदस्य कपिल पाण्डेले पद तथा जिम्मेवारीको शपथ ग्रहण गराएका थिए।
साधारण सभा सम्पन्न भएसँगै एडिलेड नेपाली समाजले निवर्तमान कार्यसमिति, निर्वाचन समिति, प्रमुख अतिथि, अतिथिहरू, सदस्यहरू तथा संस्थाप्रति शुभेच्छा र सहयोग व्यक्त गर्ने सम्पूर्ण महानुभावप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।

सन् २०१२ मा संस्थापक अध्यक्ष सर्वदा घिमिरेको नेतृत्वमा स्थापना भएको एडिलेड नेपाली समाज अष्ट्रेलिया इन्क साउथ अष्ट्रेलियामा नेपाली भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनसँगै नेपाली समुदायलाई जोड्ने र सशक्त बनाउने उद्देश्यले सक्रिय गैरनाफामूलक सामुदायिक संस्था हो। स्थापनाकालदेखि समाजले एडिलेड नेपाली विद्यालय, सांस्कृतिक तथा साहित्यिक कार्यक्रम, खेलकुद, युवा सहभागिता, परोपकारी गतिविधि तथा विभिन्न बहुसांस्कृतिक संस्थासँगको सहकार्यका माध्यमबाट नेपाली पहिचानको संरक्षण, पुस्तान्तरण र सामाजिक समावेशितामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। साथै, नेपाली मौलिक पहिचान र सम्पदाको प्रवर्द्धन गर्दै बहुसांस्कृतिक साउथ अष्ट्रेलियाको सामाजिक, सांस्कृतिक तथा सामुदायिक विविधतामा योगदान पुर्याउनु संस्थाको प्रमुख उद्देश्य रहँदै आएको छ।







प्रतिक्रिया