काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने पूर्वनिर्णयलाई यथावत् कायम राखेको छ। केन्द्रीय कार्यसमितिको निर्णय सार्वजनिक गर्दै कांग्रेसले तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्ने गरी तयारी तीव्र पार्ने जनाएको हो।
कांग्रेसले महाधिवेशनलाई निर्वाचन प्रक्रियामा सीमित नराखी पार्टीको लोकतान्त्रिक नवीकरण, एकता, सहमति, संवाद र व्यापक सहभागिताको ‘महाउत्सव’का रूपमा सम्पन्न गर्ने वातावरण बनाउने निर्णय गरेको छ।
भदौमा हुनसक्ने अत्यधिक वर्षाका कारण वडा तथा पालिका तहका निर्वाचनमा पर्न सक्ने प्रतिकूलतालाई ध्यानमा राख्दै केन्द्रीय महाधिवेशनको मिति प्रभावित नहुने गरी तल्लो तहका निर्वाचन कार्यतालिकामा सामान्य हेरफेर गर्न सकिने व्यवस्था गरिएको छ। त्यसका लागि केन्द्रीय निर्वाचन समितिले सम्बन्धित जिल्ला निर्वाचन समितिसँग समन्वय गर्नेछ।
महाधिवेशन तयारीका लागि आवश्यक विभिन्न समिति गठन गर्ने तथा तिनका संयोजक र सदस्य नियुक्त गर्ने जिम्मेवारी पार्टी सभापति गगनकुमार थापालाई दिइएको छ। सभापति थापाकै संयोजकत्वमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको छ।
व्यवस्थापन समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्यलगायतका विषय हेर्न विभिन्न उपसमिति गठन गर्नेछ। उपसमितिका संयोजक तथा सदस्यहरूको नाम भने पछि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ।
महाधिवेशनमा सभापति गगन थापाले मुख्य राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने भएका छन्। उनको प्रस्तावमा ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयलाई विशेष महत्व दिइनेछ।
उपसभापति विश्वप्रकाश शर्माले ‘राजनीतिक संस्कृतिमा क्षयको प्रवृत्ति र युगानुकूल रूपान्तरणको अभिभारा’ विषयमा प्रस्ताव प्रस्तुत गर्नेछन्। अर्का उपसभापति पुष्पा भुसालले प्रदेश निर्वाचनसम्बन्धी विशेष प्रस्ताव र महामन्त्री गुरुराज घिमिरेले संगठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने निर्णय भएको छ।
महाधिवेशन प्रचार–प्रसार समिति पार्टी प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा गठन गरिएको छ।
कांग्रेसले पार्टी विधानलाई समयानुकूल बनाउँदै संगठनलाई थप प्रभावकारी बनाउन विधान संशोधन समिति गठन गर्ने निर्णय पनि गरेको छ। महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठन हुने समितिले पार्टीका विभिन्न तह, निकाय तथा सदस्यबाट सुझाव संकलन गरी विधान संशोधनको प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस गर्नेछ।
यस्तै, पार्टीका सबै क्रियाशील सदस्यताको डिजिटल अभिलेख व्यवस्थित गर्ने निर्णय भएको छ। सदस्यता वितरण, नवीकरण, अद्यावधिक तथा अभिलेखीकरणलाई सरल, विश्वसनीय र प्रभावकारी बनाउने कांग्रेसको योजना छ।
प्रक्रिया पूरा गरेका सदस्यलाई पार्टीको परिचयपत्र उपलब्ध गराउने तथा छुटेका सदस्यलाई निश्चित समय तोकेर पुनः अद्यावधिकको अवसर दिने निर्णय पनि गरिएको छ।
सदस्यता व्यवस्थापन समितिले गरेका निर्णयलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गर्दै डिजिटल प्रणालीका प्राविधिक तथा व्यवस्थापकीय समस्या समाधान गर्न समितिलाई आवश्यक अख्तियारी दिएको छ।
महाधिवेशनको प्रक्रिया सरल, पारदर्शी, सहभागितामूलक र विवादरहित बनाउन नियमावली, निर्वाचन निर्देशिका तथा कार्यविधिमा आवश्यक परिमार्जन गर्ने निर्णय भएको छ।
विशेष महाधिवेशनबाट प्राप्त सुझाव तथा निर्णयलाई आधार बनाएर कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधन) अन्तर्गतको नियमावली २०७६ तथा निर्वाचन निर्देशिका २०८३ मा आवश्यक परिमार्जन गरी लागू गर्ने निर्णय गरिएको छ। कांग्रेसले सञ्चालन गर्न लागेको ‘NC4NC’ को कार्यविधि पनि पारित गरिएको छ।

प्रतिक्रिया