नारी निकुञ्ज दक्षिण अष्ट्रेलिया तीज उत्सवको तयारी तीव्र, एडिलेडमा रचना रिमालको विशेष प्रस्तुति

नारी निकुञ्ज दक्षिण अष्ट्रेलिया तीज उत्सवको तयारी तीव्र, एडिलेडमा रचना रिमालको विशेष प्रस्तुति


एडिलेड। नेपाली समुदायको सांस्कृतिक पहिचान, महिला सहभागिता र सामुदायिक एकताको सन्देशसहित दक्षिण अष्ट्रेलियामा ‘नारी निकुञ्ज तीज उत्सव २०२६’ आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाअन्तर्गत नारी निकुञ्ज महिला फोरम दक्षिण अष्ट्रेलियाले आगामी २९ अगस्ट २०२६ मा एडिलेडको क्लोभेली पार्कस्थित कस्ग्रोभ हल, योर्क एभिन्युमा कार्यक्रम आयोजना गर्न लागेको हो।

साँझ ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने कार्यक्रममा लागि प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ। सहभागीहरूका लागि तीजको दरसमेत निःशुल्क उपलब्ध गराइनेछ।

यसपटकको उत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी नेपाली मौलिक संस्कृतिको संरक्षण, महिला सहभागिता तथा समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउने अवसरका रूपमा अघि सारिएको छ। प्रवासमा जन्मिएका तथा हुर्किरहेका नयाँ पुस्तालाई नेपाली चाडपर्व, परम्परा र सांस्कृतिक अभ्याससँग परिचित गराउनु पनि कार्यक्रमको महत्वपूर्ण उद्देश्य रहेको आयोजकको भनाइ छ।

नारी निकुञ्ज दक्षिण अष्ट्रेलियाकी संयोजक तारा चौधरीका अनुसार तीजले प्रवासमा रहेका नेपाली महिलालाई आफ्नो संस्कृति र समुदायसँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्छ। उनले तीजलाई महिलाहरूबीचको भेटघाट र मनोरञ्जनसँगै नेपाली पहिचान, आपसी सद्भाव र सामाजिक एकताको उत्सवका रूपमा लिनुपर्ने बताइन्।

चौधरीले दक्षिण अष्ट्रेलियामा रहेका नेपाली परिवारहरूको बढ्दो सहभागितालाई ध्यानमा राख्दै यस वर्षको कार्यक्रमलाई थप व्यवस्थित र सहभागितामूलक बनाउने तयारी भइरहेको जानकारी दिइन्। उनले समुदायका सबै सदस्यलाई परिवारसहित उपस्थित भएर तीज उत्सवमा सहभागी हुन आग्रहसमेत गरेकी छन्।

रचना रिमालको प्रस्तुतिमा झुम्नेछ एडिलेड

कार्यक्रमको प्रमुख सांगीतिक आकर्षणका रूपमा नेपालकी लोकप्रिय गायिका रचना रिमाल एडिलेडको मञ्चमा प्रस्तुत हुनेछिन्। नेपाली आधुनिक तथा लोकसंगीतमा पछिल्लो पुस्ताकी लोकप्रिय गायिकाका रूपमा स्थापित रिमालका ‘फोटो फिरिममा’, ‘मिनरल वाटर’, ‘ऊनको स्वीटर’ र ‘पानी छम्किने’ लगायतका गीत श्रोतामाझ चर्चित छन्।

रिमालको प्रत्यक्ष प्रस्तुतिसँगै दक्षिण अष्ट्रेलियाका स्थानीय कलाकारहरूले पनि नेपाली कला र संस्कृति झल्काउने विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ। कार्यक्रमको सञ्चालन शिवानी काफ्ले र श्रीजा कँडेलले गर्नेछन्।

कार्यक्रमलाई थप आकर्षक बनाउन राफल ड्रसमेत राखिएको छ। राफलमार्फत सुनका गहनासहित विभिन्न आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।कार्यक्रमको मुख्य प्रायोजक कालिकोटे ज्वेलर्स एडिलेड रहेको छ भने विभिन्न व्यवसाय, सामुदायिक संस्था तथा सहयोगीहरूको सहकार्यमा कार्यक्रम सम्पन्न गरिनेछ।

दक्षिण अष्ट्रेलियामा नेपाली समुदायको उपस्थिति र सामुदायिक गतिविधि विस्तार हुँदै जाँदा तीज, दशैं र तिहारजस्ता मौलिक पर्वले प्रवासमा नेपाली सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्। विशेषगरी नयाँ पुस्तालाई नेपाली संस्कृति र परम्परासँग परिचित गराउने तथा समुदायका विभिन्न पुस्ताबीच आत्मीयता र सम्बन्ध विस्तार गर्ने माध्यमका रूपमा यस्ता कार्यक्रमको महत्व बढ्दै गएको छ। आयोजकले २९ अगस्टमा हुने नारी निकुञ्ज तीज उत्सवमा दक्षिण अष्ट्रेलियावासी नेपाली समुदायलाई परिवारसहित सहभागी हुन आह्वान गरेको छ।