काठमाडौं । राप्रपाका पूर्वनेता धवल शमशेर राणाले आज निर्वाचन आयोगमा जय नेपाल पार्टी दर्ता गराएका छन् । दुर्गा प्रसाईसहित मिलेर पार्टी बनाउने घोषणा गरेपनि पछिल्लो समय दुईबीचको दूरी बढेपछि उनले एक्लै आफ्नो नेतृत्वमा पार्टी दर्ता गरेका हुन् । राप्रपामा कारवाही गरिएका पूर्वनेताहरुको अगुवाईमा खोलिएको पार्टीले आफ्नो सिद्धान्तको रुपमा राजसंस्थासहितको नेपालको परिकल्पना भएको जनाएको छ । अब संगठन निर्माणको काम लाग्ने पनि उनले बताएका छन् । पार्टी दर्ता गरिसकेपछि धवल शमशेरले यस्तो सन्देश दिएका छन् –
‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा आज विधिवत दर्ता गरेका छौं । राष्ट्रवादी दल निर्माण गर्ने क्रममा सहयोग गर्ने, सुभेच्छा राख्ने सबैप्रति कृतज्ञ छौं ।
सनातन धर्म, राजसंस्था र प्रजातन्त्रका आधारस्तम्भमा, हिमाल, पहाड, तराईलाई एकताबद्ध राखेर, आम नेपाली जनताको प्रेरणाबाट राष्ट्रिय गौरव र ऐतिहासिक विरासत नव पुस्ता र भावी पुस्तामा हस्तान्तरण हाम्रो प्रण हो । देशमा स्थिरता र आर्थिक समुन्नति हासिल गर्नु हाम्रो मुख्य लक्ष्य हो ।
यही उद्देश्य राखेर आजकै दिनबाट संगठन निर्माणका क्रम प्रारम्भ गर्नेछौं । केन्द्रीय कार्यसमिति, प्रदेश, जिल्ला र स्थानीय तहका संगठनहरू क्रमिक रूपमा विस्तार गर्नेछौं ।
राजसंस्था र धर्ममा विश्वास राख्ने, प्रदेशको पूनर्संरचना, भ्रष्टाचारको न्यूनीकरण र सुशासन चाहने सबै नेपालीलाई एकजुट भएर अघि बढ्न हार्दिक आह्वान गर्दछौं । विशेष गरेर आगामी स्थानीय निर्वाचनमा उम्मेदवार बन्न इच्छुक प्रतिभाशाली नागरिकहरूलाई सम्पर्क गर्न, पार्टीमा आबद्ध भएर तयारीसाथ अघि बढ्न अनुरोध गर्दुछौं ।
‘जय नेपाल पार्टी’ दर्ता गर्न अहोरात्र मेहनत गर्ने पार्टीपंक्ति र आम शुभचिन्तकहरूमा पुनः हार्दिक आभार व्यक्त गर्दछौं ।

प्रतिक्रिया