सभामुखसँग अष्ट्रेलियन राजदूतको भेट, दुई देशका संसदीय संयन्त्र क्रियाशील गराउन जोड

सभामुखसँग अष्ट्रेलियन राजदूतको भेट, दुई देशका संसदीय संयन्त्र क्रियाशील गराउन जोड



काठमाडौँ । सभामुख डीपी अर्यालसँग नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन अर्नेष्टले मंगलबार शिष्टाचार भेट गरेका छन्। सङ्घीय संसद्, प्रतिनिधि सभाका सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ ।

भेटमा सभामुख अर्यालले सङ्घीय संसद्ले नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउँदै संसदीय मैत्री समूहलाई प्रभावकारी रूपमा परिचालन गरी दुवै देशका सांसदबीच नियमित आदानप्रदान र संस्थागत संलग्नता बढाउनुपर्ने बताएका थिए । उनले साझा हितका क्षेत्रमा सहकार्य विस्तार तथा पारस्परिक समझदारी अभिवृद्धिका लागि संसदीय मैत्री समूहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।


सभामुख अर्यालले नेपालको सामाजिक–आर्थिक विकासमा अष्ट्रेलिया सरकारले लामो समयदेखि पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै विशेषगरी अष्ट्रेलिया अवार्ड स्कलरसिप, क्षमता अभिवृद्धि तथा तालिमका अवसरमार्फत नेपालको मानवसंसाधन विकासमा अष्ट्रेलियाले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरे।

भेटमा जनस्तरीय सम्बन्धलाई दुई देशबिचको सम्बन्धको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै सभामुख अर्यालले उच्च शिक्षाका लागि अष्ट्रेलिया नेपाली विद्यार्थीको प्रमुख गन्तव्य रहेको बताए।


साथै, अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरे। भेटमा सभामुख अर्यालले राजदूतमार्फत अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख माननीय मिल्टन डिकप्रति हार्दिक अभिवादन तथा शुभकामना व्यक्त गरे।


भेटवार्तामा राजदूत साइमन अर्नेष्टले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय तहको सहकार्य तथा जनस्तरीय सम्बन्धको महत्वपूर्ण भूमिका रहने उल्लेख गरेका थिए। उनले नेपाल र अष्ट्रेलियाबीच शिक्षा, मानव संसाधन विकास, संसदीय सहकार्यलगायतका क्षेत्रमा हुँदै आएको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्न आफ्नोतर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।