क्यानबेरा, अष्ट्रेलिया । फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएन्स अष्ट्रेलिया फेन्काको क्यानबेरामा जारी साधारणसभामा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानिजीले नेपालीहरुलाई स्वागत गरेका छन् । पार्लियामेन्ट हाउसमा आयोजना गरिएको विशेष कार्यक्रममा उपस्थित प्रधानमन्त्रीले आफ्नो नेपाल भ्रमणको पनि स्मरण गरे ।
उनले व्याकप्याकरका रुपमा नेपाल घुम्न गएको सम्झदै नेपाली समूदायले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा ठूलो योगदान गरेको प्रष्ट पारे । उनले संसदमा प्रश्नोत्तर कार्यक्रमका कारण धेरै समय बस्न नसके पनि न्यूसाउथवेल्समा नेपाली समूदाय सबैभन्दा बढी क्रियाशील रहेको आफुले थाहा पाएको बताए ।
कार्यक्रममा सभामुख डिक डिक मिल्टन, उपरक्षामन्त्री पिटर खलिल लगायतका उच्च सरकारी अधिकारीहरु सहभागी छन् । सभॉम नेपालको समेत भ्रमण गरिसकेका छन् । अष्ट्रेलियामा नेपाली समूदायको हक हितका विषयमा संघीय सरकारलाई घच्घच्याउने संस्थाको रुपमा फेन्काको स्थापना गरिएको हो । क्यानबेरामा जारी अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि नीति तय गर्नेछ । यसका अध्यक्ष बम योन्जनले आफ्नो कार्यकाल समाप्ति र नयाँ कार्यसमितिको चयन गर्दै नेपाली समूदायको हितमा संस्था क्रियाशील रहने बताए ।
केविसीखबरसँग कुरा गर्दै उनले अष्ट्रेलियामा नेपालीको उपस्थितिको लामो ईतिहास नभएपनि उनीहरुले दिएको योगदान भने उच्च रहेको बताए । नेपाली विद्यार्थीहरु अष्ट्रेलियामा ठूलो संख्यामा पढ्न आउँछन् । सानो देश भइकन पनि नेपाल चीन र भारतपछि सबैभन्दा बढी विद्यार्थी पठाउने राष्ट्र हो । तर, पछिल्लो समय यहाँको राजनीतिमा आप्रवासीहरुलाई कडाई गर्नुपर्ने विचार उठिरहेको छ । तर, सत्तारुढ लेबर पार्टी र प्रधानमन्त्री एन्थोनी एल्बानिजीले भने व्यवस्थित बनाउने तर आप्रवासीहरुले नै बनाएको मुलुक अष्ट्रेलियामा आप्रवासीलाई नै रोक लगाउने कुरा सही नहुने भन्दै आएका छन् ।

प्रतिक्रिया