मेलबर्न । अष्ट्रेलियामा नेपालको मौलिक संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले नेवा पुचः मेलबर्नले दोस्रो पटक गाईजात्रा मनाउने भएको छ । गत वर्षबाट सुरु भएको गाईजात्राको उत्सव यस पटक भने अझ विस्तृत र भव्य रुपमा अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरको हातामा आयोजना गर्ने तयारी छ ।
गाईजात्रा शनिबार, २९ अगस्ट २०२६ मा मेलबर्नको डिगर्स रेस्टस्थित अष्ट्रेलिया नेप्लीज मल्टिकल्चरल सेन्टरमा आयोजना हुनेछ । कार्यक्रम दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ भने निःशुल्क पार्किङको समेत व्यवस्थाछ।
गत वर्ष पहिलोपटक आयोजना गरिएको गाईजात्राको सफलतापछि यस वर्ष दोस्रो संस्करण आयोजना गर्न लागिएको हो। नेवा पुनः मेलबर्नका अनुसार गाईजात्रालाई नेवार समुदायमा मात्र सीमित नराखी अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली तथा नेवार संस्कृति, कला र परम्पराको रुपमा परिचय गराउने उद्देश्य छ ।


गाईजात्रा काठमाडौं उपत्यकामा मनाइने महत्वपूर्ण तथा परम्परागत पर्व हो । तर, अहिले काठमाडौं उपत्यकासहित नेपालका विभिन्न अन्य ठाउँमा र विदेशमा पनि गाईजात्रा हुने गर्दछ । गएको एक वर्षमा दिवंगत भएका आफन्तहरूको सम्झनामा मनाइने यस पर्वमा शोक र स्मरणसँगै हास्य, व्यङ्ग्य, संगीत, सांस्कृतिक प्रस्तुति तथा सामुदायिक एकताको भाव समेटिने गर्दछ। गाईजात्राले दिवंगत आफन्तको सम्झनामा परिवार तथा समुदायलाई एक ठाउँमा ल्याउनुका साथै दुःखलाई सामूहिक रूपमा स्वीकार गर्दै जीवनप्रति सकारात्मक दृष्टिकोण राख्न प्रेरित गर्ने सांस्कृतिक मान्यता रहेको छ।
आयोजक नेवा पुचः मेलबर्न युवाहरूको नेतृत्वमा स्थापना भएको स्वयंसेवी संस्था हो। अष्ट्रेलियाको बहुसांस्कृतिक परिवेशमा नेवार संस्कृति र पहिचानलाई जीवन्त राख्ने उद्देश्यले संस्थाले वर्षभरि विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ।
संस्थाले परम्परागत नेवारी संगीत तथा बाजा प्रशिक्षण, धिमे र बाँसुरी प्रशिक्षण, सांस्कृतिक कार्यशाला, मौसमी तथा सामुदायिक कार्यक्रमसँगै रञ्जना लिपि सम्बन्धी कार्यशालासमेत सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाका सबै गतिविधि स्वयंसेवकहरूको सहभागितामा सञ्चालन हुँदै आएका छन्।


नेवा पुचः मेलबर्नका आयोजकहरूले अष्ट्रेलियामा हुर्किरहेका युवाहरूले आफ्नो सांस्कृतिक जरा र मौलिक पहिचानलाई जीवित राख्नुका साथै बहुसांस्कृतिक समाजमा योगदान गर्नु आफ्नो जिम्मेवारी भएको बताएका छन्।
गाईजात्रा २०२६ मा परम्परागत घिन्ताङ घिसी नाच, सांगीतिक प्रस्तुति, मौलिक नेवारी परिकार, सांस्कृतिक प्रदर्शनी तथा परिवारमैत्री विभिन्न गतिविधि हुनेछन् ।
त्यसैगरी, सहभागीहरूले विभिन्न मौलिक नेवारी परिकारको स्वाद लिन पाउनेछन्। कार्यक्रममा नेवार समुदायको इतिहास, कला, संस्कृति तथा सम्पदा झल्काउने प्रदर्शनीसमेत राखिने आयोजकले जनाएको छ।
नेवा पुचः मेलबर्नका सचिव बिकेश महर्जनले विदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृति र परम्परालाई जोगाउँदै नयाँ पुस्तासम्म पुर्याउनु सबैको साझा जिम्मेवारी भएको बताए । केविसीखबरसँग कुरा गर्दै महर्जनले भने, “गाईजात्रा केवल एउटा पर्व मात्र होइन, यो नेवार समुदायको इतिहास, संस्कृति र सामाजिक मूल्य–मान्यताको जीवन्त प्रतीक हो। विदेशमा रहेर पनि हाम्रो मौलिक संस्कृति र परम्परालाई जोगाउँदै नयाँ पुस्तासम्म पुर्याउनु हाम्रो साझा जिम्मेवारी हो। गाईजात्रा २०२६ मार्फत हामी नेवार समुदायलाई मात्र होइन, अष्ट्रेलियाको बहुसांस्कृतिक समाजलाई पनि नेपालको समृद्ध सांस्कृतिक सम्पदासँग परिचित गराउन चाहन्छौं।”

उनले गाईजात्राले शोक र स्मरणका बीच पनि समुदायमा एकता, सहकार्य र खुसी खोज्न सिकाउने बताउँदै अष्ट्रेलियाभर रहेका नेपाली तथा स्थानीय समुदायलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया