क्यानबेरा। अष्ट्रेलियाभर आगामी मङ्गलबार, ११ अगस्ट २०२६ मा राष्ट्रिय जनगणना (सेन्सस) सञ्चालन हुँदैछ। अष्ट्रेलियन तथ्याङ्क ब्युरो (एबीएस) ले देशभर रहेका सबै व्यक्ति तथा परिवारलाई जनगणनामा सहभागी भई सही र पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरेको छ।
हरेक पाँच वर्षमा सञ्चालन हुने जनगणनाबाट प्राप्त तथ्याङ्कका आधारमा सङ्घीय, राज्य तथा स्थानीय सरकारले अस्पताल, विद्यालय, सार्वजनिक यातायात, आवास, बाल तथा ज्येष्ठ नागरिक सेवा, भाषा सेवा तथा अन्य सार्वजनिक सेवासम्बन्धी नीति तथा बजेट निर्धारण गर्ने गर्दछ। त्यसैले जनगणना केवल जनसङ्ख्या गणना गर्ने प्रक्रिया मात्र नभई अष्ट्रेलियाको आगामी विकास योजना, सार्वजनिक सेवा र स्रोत व्यवस्थापनको महत्वपूर्ण आधार पनि हो।
यस वर्षको जनगणनामा अधिकांश घरधुरीले अनलाइनमार्फत विवरण भर्न सक्नेछन् भने आवश्यक परे कागजी फारामको व्यवस्था पनि गरिएको छ। जनगणनाको रात अष्ट्रेलियामा रहेका सबै व्यक्तिले विवरण उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ। यसमा अष्ट्रेलियाली नागरिक, स्थायी बासिन्दा, अस्थायी भिसावाहक, अन्तर्राष्ट्रिय विद्यार्थी तथा आगन्तुकसमेत समावेश हुन्छन्।यसपटक १६ वर्ष वा सोभन्दा माथिका व्यक्तिका लागि लैङ्गिक पहिचान, जन्मका बेला अभिलेख गरिएको लिङ्ग तथा यौन अभिमुखीकरण सम्बन्धी प्रश्नहरू पहिलो पटक समावेश गरिएको छ।
एबीएसले जनगणनामा उपलब्ध गराइने सबै व्यक्तिगत विवरण कानुनद्वारा सुरक्षित रहने र ती जानकारी केवल तथ्याङ्कीय तथा नीतिगत प्रयोजनका लागि मात्र प्रयोग गरिने स्पष्ट पारेको छ। साथै, जनगणनाको नाममा हुन सक्ने ठगीप्रति सचेत रहन आग्रह गर्दै बैंक खाता, पासवर्ड वा अन्य आर्थिक विवरण कसैलाई पनि नदिन अनुरोध गरेको छ।
नेपाली समुदायका लागि किन महत्त्वपूर्ण छ जनगणना?
अष्ट्रेलियामा नेपाली समुदाय पछिल्लो दशकमा उल्लेखनीय रूपमा विस्तार भएको छ। शिक्षा, स्वास्थ्य, निर्माण, व्यवसाय, सूचना प्रविधि, आतिथ्यलगायत विभिन्न क्षेत्रमा नेपालीहरूको योगदान निरन्तर बढ्दै गएको छ। तर कुनै पनि समुदायको वास्तविक अवस्था सरकारी तथ्याङ्कमा सही रूपमा प्रतिबिम्बित नभएसम्म त्यस समुदायको आवश्यकता, चुनौती र योगदान नीतिनिर्माण तहसम्म प्रभावकारी रूपमा पुग्न सक्दैन।
यसैले जनगणनामा जन्मस्थान, घरमा बोलिने भाषा, जातीय पृष्ठभूमि, धर्म, शिक्षा, रोजगारी तथा अन्य व्यक्तिगत विवरण सही र यथार्थ रूपमा उल्लेख गर्नु नेपाली समुदायका लागि अत्यन्त महत्त्वपूर्ण छ। यस्ता तथ्याङ्कले भविष्यमा नेपाली भाषाका सेवा, दोभाषे सुविधा, स्वास्थ्य तथा सामुदायिक कार्यक्रम, शैक्षिक योजना र अन्य सार्वजनिक सेवाको विस्तारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।

आज अष्ट्रेलिया विश्वकै सफल बहुसांस्कृतिक मुलुकमध्ये एक हो, जहाँ नीति तथा योजना तथ्याङ्कका आधारमा निर्माण गरिन्छ। त्यसैले जनगणनामा सहभागी हुनु केवल कानुनी दायित्व पूरा गर्नु मात्र होइन, आफ्नो समुदायको पहिचान, योगदान र भविष्यलाई राष्ट्रिय तथ्याङ्कमा सुनिश्चित गर्ने अवसर पनि हो।
अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायसहित सम्पूर्ण बहुसांस्कृतिक समुदायका लागि जनगणना आफ्नो आवाज, आवश्यकता र योगदानलाई राष्ट्रिय नीति निर्माणसम्म पुर्याउने महत्वपूर्ण माध्यम हो। त्यसैले सबैले समयमै जनगणनामा सहभागी भई सही र यथार्थ विवरण उपलब्ध गराउनु आवश्यक छ। आज हामीले दिने सही तथ्याङ्कले भविष्यमा शिक्षा, स्वास्थ्य, भाषा सेवा, सामुदायिक सेवा, पूर्वाधार विकास तथा अन्य सार्वजनिक सेवासम्बन्धी निर्णयमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले जनगणनामा सक्रिय सहभागिता जनाउनु प्रत्येक व्यक्तिको साझा जिम्मेवारी हो।
थप जानकारीका लागि आधिकारिक लिङ्क: https://www.abs.gov.au/census

प्रतिक्रिया