मेलबर्न । अष्ट्रेलियन बोर्डर फोर्सले क्वीन्सल्याण्डमा २० लाख अष्ट्रेलियन डलरभन्दा बढी बराबरको नक्कली नोट भित्र्याउने प्रयासलाई विफल पारेको छ। एबीएफका अनुसार यो क्वीन्सल्याण्डमा एकै आयातकर्तासँग सम्बन्धित हालसम्मकै सबैभन्दा ठूलो नक्कली नोट बरामदको घटना हो ।
गत महिना अन्त्यतिर एबीएफका अधिकारीहरूले क्वीन्सल्याण्ड पुगेका १२ वटा हवाई कार्गो सामानको निरीक्षण गर्दा २० लाख ८ सय ५० अष्ट्रेलियन डलर तथा ८ सय ५० क्यानेडियन डलर बराबरका नक्कली नोट फेला पारेका थिए। एसियाबाट पठाइएका ती सबै कार्गो एउटै आयातकर्तासँग सम्बन्धित रहेको एबीएफले जनाएको छ। गोप्य सूचनाका आधारमा जोखिमयुक्त कार्गोको पहिचान गरी जाँच गर्दा नक्कली मुद्रा बरामद गरिएको हो।
एबीएफका कार्गो अपरेसन सुपरिन्टेन्डेन्ट डेभिड हेन्डरसनले गुप्तचर सूचना, जोखिम विश्लेषण र सीमा जाँच प्रणालीका कारण ठूलो परिमाणमा नक्कली नोट अष्ट्रेलियाभित्र प्रवेश गर्न नपाएको बताए । उनले भने, “हाम्रा अधिकारीहरूले अत्याधुनिक लुकाउने तरिकासमेत पहिचान गरेर नक्कली मुद्रा आयात गर्ने प्रयासलाई विफल पारिरहेका छन्। यस कारबाहीले २० लाख डलरभन्दा बढीको नक्कली मुद्रा अष्ट्रेलियाली समुदायसम्म पुग्नबाट रोकेको छ।”

उनका नक्कली नोटहरूको गुणस्तर पछिल्लो समय उल्लेखनीय रूपमा सुधार हुँदै गएको छ, जसले सर्वसाधारण र व्यवसायीहरू झुक्किने सम्भावना रहन्छ । यसैले समूदाय नक्कली नोटबारे सतर्क रहनु यतिबेलाको सबैभन्दा ठूलो आवश्यकता बनेको छ । एबीएफका तथ्याङ्कअनुसार सन् २०२५ को सुरुदेखि हवाई कार्गो र अन्तर्राष्ट्रिय हुलाकमार्फत आउने नक्कली नोटमा उल्लेखनीय वृद्धि भएको छ।
- २०२२–२३ : ३ वटा घटना, २५,२७० अष्ट्रेलियन डलर बराबर
- २०२३–२४ : १ वटा घटना, १,३५० अष्ट्रेलियन डलर बराबर
- २०२४–२५ : १३ वटा घटना, ११५,१५० अष्ट्रेलियन डलर बराबर
- २०२५–२६ (३० जुन २०२६ सम्म) : ७०० वटा घटना, ६,०५६,२०९ अष्ट्रेलियन डलर बराबर
हालसम्म चार आर्थिक वर्षमा कुल ७२० वटा घटनामा ६,२३८,८७९ अष्ट्रेलियन डलर बराबरको नक्कली मुद्रा बरामद गरिएको एबीएफले जनाएको छ।
एबीएफले नगद कारोबार गर्दा विशेष सतर्कता अपनाउन र बैंक नोटका सुरक्षा विशेषता जाँच गर्न आग्रह गरेको छ। वास्तविक नोटमा विशेष बनावट, उठेको छपाइ, पारदर्शी झ्याल तथा रङ परिवर्तन हुने सुरक्षा चिन्हहरू हुन्छन्।
त्यस्तै,”Not Legal Tender”, “For Motion Picture Use Only” वा “Prop” जस्ता लेखिएको नोट देखिएमा ति नक्कली नोट हुन त्यसलाई कारोबार गर्न हुँदैन । यदि कसैले नक्कली मुद्रा प्राप्त गरेको शंका लागेमा त्यसलाई सकेसम्म थप नछोई स्थानीय प्रहरीलाई जानकारी गराउनुपर्छ । अष्ट्रेलियामा जानाजानी नक्कली मुद्रा आयात गर्ने, राख्ने वा प्रयोग गर्ने कार्य गम्भीर अपराध मानिन्छ। यस्तो कसुरमा दोषी ठहरिएमा १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ।
बरामद गरिएका सबै नक्कली मुद्रा अनुसन्धानका लागि अष्ट्रेलियन फेडरल पुलिसलाई बुझाइने तथा त्यसपछि रिजर्भ बैंक अफ अष्ट्रेलियाले परीक्षण गरी नष्ट गर्ने व्यवस्था रहेको एबीएफले जनाएको छ।

प्रतिक्रिया