दुर्गा प्रसाईंको भक्तपुर प्रहरी चौकीमा बास !

दुर्गा प्रसाईंको भक्तपुर प्रहरी चौकीमा बास !

बजारमा आएका समाचार, तिनमा आफ्नो तर्क र देश दुनियाँका कुरा जोडेर उनी समाजमा भय सिर्जना गर्न माहिर छन्



काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई भक्तपुरबाट गएराति पक्राउ गरेको हो । प्रसाईले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा गरेका थिए । उनी विभिन्न समयमा अन्टसन्ट बोलेर परिस्थितिलाई भड्काउने कार्यमा संलग्न रहँदै आएका छन् ।

बजारमा आएका समाचार, तिनमा आफ्नो तर्क र देश दुनियाँका कुरा जोडेर उनी समाजमा भय सिर्जना गर्न माहिर छन् । उनले भ्रष्टाचारी भन्दै विभिन्न व्यक्तिहरुलाई आरोपित गरेपनि यसका विरुद्ध कसैले कारवाही गर्न सकेको छैन ।

उनलाई अदालतले क्यान्सर बिरामी भएको भन्दै कहिले धरौटीमा कहिले हाजिरी जमानीमा छोड्दै आएको छ । काठमाडौंमा २ जनाको ज्यान जानेगरी भएको आन्दोलनमा समेत उनको संलग्नता थियो तर पछि उनी फरार भएपछि भारतमा पक्राउ परेका थिए । पक्राउ पर्ने र छुटेपछि फेरि त्यही क्रम दोहोराउने उनको प्रवृत्ति छ ।
उनलाई गएराति भक्तपुर जिल्ला प्रहरी परिसरमै राखिएको प्रहरीले पुष्टि गरेको छ । उनलाई आज म्याद थपका लागि अदालत लाने तयारी छ ।