गर्भधारणदेखि अभिभावकत्वसम्मको मानसिक स्वास्थ्यबारे एडिलेडमा विशेष सचेतना कार्यक्रम

गर्भधारणदेखि अभिभावकत्वसम्मको मानसिक स्वास्थ्यबारे एडिलेडमा विशेष सचेतना कार्यक्रम


एडिलेड, अष्ट्रेलिया – दक्षिण अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै गर्भधारणदेखि अभिभावकत्वसम्मको यात्रामा आउने मानसिक तथा भावनात्मक उतारचढावबारे जानकारी दिने उद्देश्यले विशेष सचेतनामूलक कार्यक्रम आयोजना हुने भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अष्ट्रेलिया राज्य समन्वय परिषद् र एनआरएनए नारी निकुञ्ज दक्षिण अष्ट्रेलिया को संयुक्त आयोजनामा आगामी १४ अगस्ट २०२६ (शुक्रबार) दिउँसो ४:०० बजेदेखि साँझ ६:०० बजेसम्म एडिलेडस्थित मिचेल पार्क स्पोर्ट्स एन्ड कम्युनिटी सेन्टर मा कार्यक्रम सञ्चालन गरिने भएको हो।

‘गर्भधारणदेखि अभिभावकत्वसम्मको भावनात्मक उतारचढावको यात्रा’ विषयमा केन्द्रित उक्त कार्यक्रममा दक्षिण अष्ट्रेलियाको महिला तथा बालबालिका स्वास्थ्य सञ्जाल अन्तर्गत बाल तथा परिवार स्वास्थ्य सेवा (साउथ टेरेस) मा कार्यरत राष्ट्रिय पेरिनेटल तथा शिशु मानसिक स्वास्थ्य विशेषज्ञ क्याथी बिशप ले मुख्य प्रस्तुति दिनुहुनेछ।

एनआरएनए नारी निकुञ्ज दक्षिण अष्ट्रेलियाकी सह–संयोजक कुशुम पौडेल का अनुसार कार्यक्रममा गर्भावस्थादेखि शिशु जन्मिएपछिको अवधिसम्म देखिन सक्ने मानसिक तथा भावनात्मक परिवर्तन, नयाँ अभिभावकले सामना गर्ने तनाव, त्यसको व्यवस्थापन, आमा र शिशुको मानसिक स्वास्थ्य, परिवारको सहयोग तथा स्वस्थ अभिभावकत्वका विविध पक्षबारे विस्तृत जानकारी प्रदान गरिनेछ।

उहाँका अनुसार कार्यक्रम महिला र पुरुष दुवैका लागि खुला रहनेछ। विशेषगरी पहिलो पटक अभिभावक बन्ने तयारीमा रहेका तथा साना बालबालिकाका आमाबुबाका लागि कार्यक्रम अत्यन्त उपयोगी हुने विश्वास गरिएको छ।

आयोजकका अनुसार कार्यक्रममा सहभागीहरूबीच अन्तरक्रिया गर्ने अवसरका साथै जलपानको व्यवस्था पनि गरिएको छ।