एडिलेड, अष्ट्रेलिया। नेपाली गीत–सङ्गीतका दुई कालजयी गायक दीप श्रेष्ठ र रामकृष्ण ढकाल को प्रस्तुति रहेको ‘स्वर्णिम सांगीतिक साँझ’ शुक्रबार साँझ एडिलेडमा भव्य रूपमा सम्पन्न भएको छ। सारङ्गी इभेन्ट्सको आयोजनामा सम्पन्न कार्यक्रमलाई केन्टफोर्ड इन्स्टिच्युट र एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेस ले शीर्षक प्रायोजन गरेका थिए।
एडिलेड तथा दक्षिण अष्ट्रेलियाका विभिन्न क्षेत्रबाट नेपाली समुदायको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा हल क्षमताभन्दा बढी दर्शकको सहभागिता देखिएको थियो। कार्यक्रम सुरु हुनुअघि नै अधिकांश सिट भरिएका थिए भने कार्यक्रम अवधिभर दर्शकको उत्साह उल्लेखनीय देखिन्थ्यो।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदीप निरौला ले गर्नुभएको थियो। उहाँले कलाकारहरूको सांगीतिक यात्रा, नेपाली गीत–सङ्गीतमा उहाँहरूको योगदान तथा प्रस्तुतिका बीचमा आवश्यक जानकारी प्रस्तुत गर्दै कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउनुभएको थियो।
कार्यक्रमको सुरुवात सदाबहार गायक दीप श्रेष्ठ को प्रस्तुतिबाट भएको थियो। उहाँले ‘म त दूरदेखि आएँ’, ‘म पत्थरको देवता होइन’, ‘झस्किएको छ मन मेरो’, ‘बितेका कुराले’ लगायतका आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नुभयो। उहाँका गीतहरूमा दर्शकले ताली बजाउँदै साथ दिएका थिए भने धेरैजसो दर्शक गीतसँगै गुनगुनाइरहेका देखिन्थे। लामो समयपछि आफ्ना प्रिय कलाकारलाई प्रत्यक्ष सुन्न पाउँदा धेरै दर्शक भावुकसमेत बनेका थिए।
त्यसपछि मञ्चमा आएका रामकृष्ण ढकाल ले आफ्ना लोकप्रिय गीतमार्फत कार्यक्रमको माहोललाई थप जीवन्त बनाउनुभयो। ‘मन पराउने हजार भेटिन्छन्’, ‘बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्’, ‘ओराली लागेको’ लगायतका गीत प्रस्तुत गर्दा हलभरिका दर्शकले पनि उहाँसँगै स्वर मिलाएका थिए। उहाँको प्रत्येक प्रस्तुतिपछि दर्शकले ताली बजाएर स्वागत गरेका थिए।
कार्यक्रमको अन्तिम चरणमा रामकृष्ण ढकालले आफ्नै निर्माणमा बनेको चलचित्र ‘मालती मङ्गले’ को चर्चित गीत ‘झ्याम्परम झ्याम्परा’ प्रस्तुत गरेपछि कार्यक्रमको माहोल थप उत्साहपूर्ण बनेको थियो। धेरै दर्शक आफ्ना सिटबाट उठेर नाच्दै र गीतमा रमाएको दृश्य कार्यक्रमभर आकर्षणको केन्द्र बनेको थियो।
कार्यक्रममा नेपालबाट आउनुभएका गिटारवादक विक्रम कार्की र तबलावादक शम्भु बनियाँले लाइभ सङ्गीतमार्फत कलाकारहरूको प्रस्तुति सशक्त बनाउनुभएको थियो। उहाँहरूको सांगीतिक साथले कार्यक्रमलाई थप स्तरीय बनाएको दर्शकहरूले प्रतिक्रिया दिएका थिए।
कार्यक्रमकै अवसरमा नेपाली गीत–सङ्गीतमा दशकौँदेखि पुर्याएको योगदानको कदर गर्दै दीप श्रेष्ठ र रामकृष्ण ढकाल लाई विशेष सम्मान गरिएको थियो। एनआरएनए साउथ अष्ट्रेलिया का संयोजक थिर गुरुङ तथा एडिलेड नेपाली समाज का अध्यक्ष श्याम दाहाल ले दोसल्ला ओढाएर मायाको चिनोसहित दुवै कलाकारलाई सम्मान गर्नुभएको थियो। सम्मान ग्रहणपछि उपस्थित दर्शकले लामो समयसम्म ताली बजाएर सम्मान प्रकट गरेका थिए।


कार्यक्रमपछि प्रतिक्रिया दिँदै गायक दीप श्रेष्ठ ले एडिलेडवासी नेपाली समुदायले देखाएको आत्मीयता, सम्मान र मायाप्रति आभार व्यक्त गर्नुभयो। विदेशमा रहेर पनि नेपाली भाषा, कला र सङ्गीतप्रति समुदायको माया र सम्मान देख्दा आफू अत्यन्त खुसी भएको उहाँले बताउनुभयो।
त्यसैगरी, गायक रामकृष्ण ढकाल ले पनि एडिलेडका दर्शकबाट प्राप्त माया र सम्मानले आफूलाई थप ऊर्जा मिलेको प्रतिक्रिया दिनुभयो। नेपालीहरू संसारको जुनसुकै देशमा रहे पनि आफ्नो भाषा, संस्कृति र सङ्गीतसँग जोडिएको देख्दा कलाकारका रूपमा गर्व महसुस हुने उहाँको भनाइ थियो।
कार्यक्रमका आयोजक सारङ्गी इभेन्ट्स का निर्देशक हेम श्रेष्ठ ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, दर्शक, स्वयंसेवक, सञ्चारकर्मी तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले एडिलेडवासी नेपाली समुदायको विश्वास र साथले आगामी दिनमा पनि यस्ता गुणस्तरीय कार्यक्रम आयोजना गर्ने उत्साह थपिएको बताउनुभयो।
त्यसैगरी, कार्यक्रम संयोजक विकास पौडेल उदास ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्वयंसेवक, प्रायोजक, सहयोगी संस्था, सञ्चारकर्मी तथा सहभागीप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले प्रवासमा नेपाली कला, संस्कृति र सङ्गीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
कार्यक्रममा सहभागी अधिकांश दर्शकले एकै मञ्चमा दीप श्रेष्ठ र रामकृष्ण ढकालको प्रस्तुति प्रत्यक्ष रूपमा हेर्न र सुन्न पाउनु आफ्ना लागि अविस्मरणीय अनुभव भएको प्रतिक्रिया दिएका थिए। कलाकारहरूको उत्कृष्ट प्रस्तुति, लाइभ सङ्गीत, दर्शकको उत्साहपूर्ण सहभागिता तथा व्यवस्थित व्यवस्थापनका कारण ‘स्वर्णिम सांगीतिक साँझ’ एडिलेडमा यस वर्ष आयोजना भएका सफल र स्मरणीय नेपाली सांगीतिक कार्यक्रममध्ये एक बनेको सहभागीहरूको भनाइ थियो।









प्रतिक्रिया