संयमता अपनाउनु प्रधानमन्त्रीको अपिल, सभापति लामिछानेको आज सर्वदलीय बैठक

संयमता अपनाउनु प्रधानमन्त्रीको अपिल, सभापति लामिछानेको आज सर्वदलीय बैठक



काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै भने, “प्रधानमन्त्रीका रूपमा मात्र होइन, यही देशका नागरिकका रूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दुःखी छु । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको चाँडो स्वास्थ्य ठिक होस् भन्ने कामना गर्दछु । यो घटनाबाट ज्यान गुमाएका परिवारहरूको दुःख मैले महसुस गरेको छु । सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउने छ । फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारलाई कानुनबमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु ।”

प्रधानमन्त्री साहले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताउँदै त्यसबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुन अनुसार कारबाही हुने स्पष्ट पारेका छन् । सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको र यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा सुधारका कदम चालिने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गरेका छन् । प्रधानमन्त्रीले भनेका छन्, “फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुस, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमित भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सद्भाव कायम राखौँ ।”
सर्वदलीय बैठक आह्वान
यसैबिच रास्वपाका सभापति लामिछानेले सुनसरी घटनालगायत विषयमा छलफल गर्न आज विहान ८ बजे सर्वदलीय बैठक आह्वान गरेका छन् । सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बिहान उक्त बैठक संसद्मा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए । बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफैँ फोन गरेर आमन्त्रण गरेका छन् ।