सिड्नीमा भेटियो सैन्य शैलीका बन्दुक, ग्रिनेड र लागुऔषध, दुईजना पक्राउ

सिड्नीमा भेटियो सैन्य शैलीका बन्दुक, ग्रिनेड र लागुऔषध, दुईजना पक्राउ


सिड्नी । अष्ट्रेलियाको सिड्नीको दक्षिण–पश्चिमी क्षेत्र ग्लेनफिल्डमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा सैन्य शैलीका हतियार, ग्रिनेड, लागुऔषध र नगद बरामद गरेको छ। यस घटनामा दुई जनालाई नियन्त्रणमा समेत लिइएको छ ।

एनएसडब्लु प्रहरीको टास्कफोर्स फाल्कनले नियमित बन्दुक स्वामित्व प्रतिबन्ध अन्तर्गत गरेको खोजतलासका क्रममा आठ वटा सैन्य शैलीका बन्दुक, एक हजारभन्दा बढी गोली, ग्रिनेड, करिब ६ किलोग्राम कोकिन, १ किलोग्राम आइस (मेथाम्फेटामिन), मोबाइल फोनहरू तथा करिब १० हजार अष्ट्रेलियन डलर नगद बरामद गरेको जनाएको छ। ग्रिनेड सुरक्षित रूपमा निष्क्रिय बनाउन बम डिस्पोजल टोलीलाई समेत परिचालन गरिएको थियो।
प्रहरीका अनुसार उक्त घर संगठित आपराधिक समूहसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ। घटनास्थलबाट २६ वर्षीय एक पुरुष र एक महिलालाई पक्राउ गरिएको छ। पुरुषविरुद्ध २७ वटा गम्भीर अभियोग दर्ता गरिएको छ र उनलाई जमानत अस्वीकार गरिएको छ भने महिलालाई सशर्त जमानतमा रिहा गरिएको प्रहरीले जनाएको छ।

एनएसडब्लु प्रहरीका सहायक आयुक्त स्कट कुक ले यस्ता सैन्य शैलीका हतियार र विस्फोटक पदार्थ समुदायका लागि अत्यन्त ठूलो सुरक्षा चुनौती भएको बताउँदै प्रहरीले यस्ता संगठित अपराधविरुद्ध कारबाहीलाई अझ सशक्त बनाउने बताएका छन्।

सिड्नीमा पछिल्ला महिनाहरूमा संगठित अपराध र ग्याङ हिंसासँग सम्बन्धित घटनाहरू बढ्दै गएपछि प्रहरीले विशेष निगरानी र अपरेशनहरू सञ्चालन गर्दै आएको छ। यसै क्रममा गरिएको पछिल्लो कारबाहीलाई हालसम्मकै महत्वपूर्ण हतियार बरामदमध्ये एक मानिएको छ।