काठमाडौं । अष्ट्रेलिया सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालको तीनदिने भ्रमण सम्पन्न गर्दै नेपाल–अष्ट्रेलिया सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। भ्रमणका क्रममा व्यापार, लगानी, शिक्षा, जलवायु परिवर्तन तथा दिगो विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा उच्चस्तरीय छलफल भएको हो।
अष्ट्रेलियाको डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) अन्तर्गत दक्षिण तथा मध्य एसिया महाशाखाका प्रथम सहायक सचिव सेरा स्टोरी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालका उच्च सरकारी अधिकारीहरूसँग विभिन्न चरणमा भेटवार्ता गरेको थियो।
भ्रमणका क्रममा सेरा स्टोरी र नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईले संयुक्त रूपमा नेपाल–अष्ट्रेलिया द्विपक्षीय परामर्श संयन्त्र ९द्यऋः० को तेस्रो बैठकको सह-अध्यक्षता गरेका थिए। त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीसँग व्यापार तथा लगानी रूपरेखा व्यवस्था (TIFA) समितिको पहिलो बैठक सम्पन्न भएको छ। उक्त बैठकलाई दुई देशबीच आर्थिक तथा व्यापारिक सहकार्य विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
बैठकमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा साझा हितका विषयमा सहकार्य बढाउने र आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने विषयमा दुवै पक्षले प्रतिबद्धता व्यक्त गरेका छन्।
अष्ट्रेलिया सरकारले त्यहाँ बसोबास गर्ने नेपाली समुदायको योगदानको पनि उच्च प्रशंसा गरेको छ। नेपाली समुदायको सीप, उद्यमशीलता, लगानी र मेहनती स्वभावले दुई देशबीचको जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाएको उल्लेख गरिएको छ।

नेपाल भ्रमणका क्रममा सेरा स्टोरीले परराष्ट्रमन्त्री शिशिर खनाल तथा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरी द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल गरेका थिए।
शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै उनले अष्ट्रेलियाली विश्वविद्यालयबाट अध्ययन गरेका नेपाली पूर्वविद्यार्थीसँग अन्तरक्रिया गरेका थिए। साथै, त्रिभुवन विश्वविद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षाविद्, युवा नेता तथा परराष्ट्र नीति विज्ञहरूसँग अष्ट्रेलिया–नेपाल सम्बन्धको भावी दिशा र सम्भावनाबारे छलफल गरेका थिए।

कार्यक्रममा बोल्दै सेरा स्टोरीले लोकतान्त्रिक मूल्य र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाप्रति नेपाल र अष्ट्रेलियाको साझा प्रतिबद्धताले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।
भ्रमणका क्रममा उनले गोदावरीस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) को ‘लिभिङ माउन्टेन ल्याब’ पनि अवलोकन गरेका थिए। सो अवसरमा जलवायु परिवर्तनका असर न्यूनीकरण, प्राकृतिक स्रोत व्यवस्थापन, जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा अष्ट्रेलियाले नेपाल तथा क्षेत्रीय साझेदारहरूसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
तीनदिने यस उच्चस्तरीय भ्रमणले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप गतिशील बनाउनुका साथै आगामी दिनमा व्यापार, शिक्षा, जलवायु तथा विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने नयाँ अवसरहरू सिर्जना गरेको विश्वास व्यक्त गरिएको छ ।
Photo : Gemini Generated.

प्रतिक्रिया