होबार्ट – तास्मानियामा नेपाली समुदायको क्रिकेट विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको गोर्खा लेजेन्ड्स क्रिकेट क्लब ले आफ्नो स्थापना भएको १० वर्ष पूरा भएको अवसरमा विशेष समारोह आयोजना गर्ने भएको छ। क्लबको १०औँ वार्षिकोत्सव समारोह आगामी जुलाई २४ (शुक्रबार) साँझ ६ बजेदेखि होबार्टको टाउन हलस्थित बलरुम (लेभल–१) मा आयोजना हुने आयोजकले जनाएको छ।
सन् २०१६ मा केही क्रिकेटप्रेमी नेपाली युवाले ब्याकयार्ड क्रिकेट बाट सुरु गरेको यात्राले आज तास्मानियामा नेपाली समुदायको सबैभन्दा सफल क्रिकेट क्लबमध्ये एकको रूपमा गोर्खा लेजेन्ड्सलाई स्थापित गरेको छ। सीमित स्रोतसाधन, केही उत्साही सदस्य र क्रिकेटप्रतिको लगावबाट सुरु भएको क्लबले एक दशकको अवधिमा नेपाली समुदायको क्रिकेट इतिहासमा छुट्टै पहिचान बनाउन सफल भएको हो।
गोर्खा लेजेन्ड्स सदर्न क्रिकेट एसोसिएसन फर्स्ट ग्रेड मा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली क्रिकेट क्लब हो। स्थापित र अनुभवी क्लबहरूसँग प्रतिस्पर्धा गर्दै पहिलो सहभागितामै सेमिफाइनलसम्म पुगेर ऐतिहासिक सफलता हासिल गरेको क्लबले उत्कृष्ट खेल भावना र अनुशासनका लागि प्रदान गरिने प्रतिष्ठित ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ समेत जित्दै सम्पूर्ण नेपाली समुदायलाई गौरवान्वित बनाएको थियो।

सन् २०२२ देखि तास्मानियन नेपालीज क्रिकेट एसोसिएसन टी–२० लिग मा प्रतिस्पर्धा गर्दै आएको गोर्खा लेजेन्ड्सले लगातार पाँच पटक उपाधि जित्दै प्रतियोगितामा आफ्नो स्पष्ट वर्चस्व कायम राखेको छ। निरन्तरको सफल प्रदर्शनले क्लबलाई नेपाली समुदायको क्रिकेटमा उत्कृष्ट टोलीका रूपमा स्थापित गरेको छ।
गोर्खा लेजेन्ड्सले टोलीगत सफलतासँगै प्रतिभावान् खेलाडी उत्पादनमा पनि उल्लेखनीय योगदान दिएको छ। क्लबबाट खेल्दै हुर्किएका करिब एक दर्जन खेलाडी ले सिटीपीएल प्रिमियर लिग मा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरिसकेका छन्, जसलाई क्लबको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
१० वर्षे विशेष समारोहमा स्थानीय सरकारका प्रतिनिधि, संसद सदस्य, होबार्ट र ग्लेनोर्की सिटी काउन्सिलका मेयर, विभिन्न सामुदायिक संस्थाका प्रतिनिधि तथा व्यवसायीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रममा ग्रेस इन्टरनेशनलका निर्देशक रामचन्द्र पौडेल, एक्स्ट्राटेकका बिनोद कुँवर लगायत विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको पनि उपस्थिति रहनेछ।
समारोहको अर्को विशेष आकर्षण भनेको अष्ट्रेलियाका विभिन्न राज्यमा बसाइँ सरेका क्लबका पूर्व खेलाडीहरूको पुनर्मिलन हुनेछ। क्लबले उनीहरूलाई विशेष निमन्त्रणा दिँदै होबार्टमा सहभागी गराउन आवासको व्यवस्था गर्नुका साथै हवाई टिकटको खर्चसमेत व्यहोरेको जनाएको छ। आयोजकका अनुसार क्लबको स्थापना र विकासमा योगदान पुर्याएका पूर्व खेलाडीहरूप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
क्लबका अध्यक्ष प्रकाश उप्रेतीका अनुसार, १० वर्षे वार्षिकोत्सव केवल स्थापना दिवसको उत्सव मात्र नभई एक दशकको संघर्ष, उपलब्धि र सफलताको उत्सव पनि हो। उहाँले क्लबलाई यो स्थानसम्म पुर्याउन योगदान दिने संस्थापक सदस्य, पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक, स्वयंसेवक, प्रायोजक, शुभेच्छुक तथा सम्पूर्ण नेपाली समुदायप्रति आभार व्यक्त गर्नुभयो।
उहाँका अनुसार गोर्खा लेजेन्ड्सले विगत १० वर्षमा क्रिकेटमार्फत नेपाली समुदायलाई एकताबद्ध गर्दै तास्मानियामा नेपाली क्रिकेटको छुट्टै पहिचान स्थापित गरेको छ। आगामी दिनमा पनि युवा प्रतिभाको विकास, प्रतिस्पर्धात्मक क्रिकेटको प्रवर्द्धन तथा समुदायबीचको एकता र भाइचारालाई अझ सुदृढ बनाउने लक्ष्यका साथ क्लब अघि बढ्ने उहाँको भनाइ छ।
समारोहमा क्लबको दशक लामो यात्राको समीक्षा, संस्थापक सदस्य तथा पूर्व र वर्तमान खेलाडीहरूको सम्मान, विशेष सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम तथा रात्रिभोजको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

एक दशकअघि केही युवाले ब्याकयार्ड क्रिकेट बाट सुरु गरेको सपना आज तास्मानियामा नेपाली समुदायको गौरवपूर्ण क्रिकेट इतिहास बनेको छ। प्रतिस्पर्धात्मक क्रिकेटमा हासिल गरेका ऐतिहासिक उपलब्धि, उत्कृष्ट खेल संस्कृतिको पहिचान, नयाँ प्रतिभा उत्पादन तथा खेलमार्फत समुदायलाई एकताबद्ध बनाउने भूमिकाका कारण गोर्खा लेजेन्ड्स क्रिकेट क्लबको १० वर्षे यात्रा नेपाली समुदायका लागि प्रेरणादायी बनेको छ।

प्रतिक्रिया