सिड्नीमा शुक्रबार अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन, ४ सय सहभागी हुँदै !

सिड्नीमा शुक्रबार अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन, ४ सय सहभागी हुँदै !

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने


सिड्नी, अष्ट्रेलिया ।

फेडरेसन अफ ईन्टरनेशनल नेपाली युथ अन्ट्रप्रेनर्स (फिने) को आयोजनामा आगामी शुक्रबार जुलाई २४ र २५ तारिख सिड्नीमा अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन हुने भएको छ । यस सम्बन्धी जानकारी सञ्चारमाध्यमलाई दिन र समूदायसँग अन्तरक्रिया गर्न बुधबार सिड्नीमा छलफल आयोजना गरिएको छ । छलफलमा आयोजकको तर्फबाट बोल्दै फिने अष्ट्रेलियाकी अध्यक्ष चालिसेले २० भन्दा बढी देशबाट सफल उद्यमीहरु सिड्नी आइसकेको जानकारी दिइन् । उनले कार्यक्रम दुई दिन भएको सम्बन्धमा जिज्ञासा आएपनि विगतको अनुभवका आधारमा दुई दिनको सम्मेलनले उद्यमीहरुलाई सिक्ने, आफ्नो कुरा भन्ने र सफल व्यवसायीहरुसँग सहकार्यको अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।

विश्वभर रहेका नेपाली उद्यमी, लगानीकर्ता, नीति निर्माता, बैंकिङ नेतृत्व, प्रविधि विशेषज्ञ तथा नवप्रवर्तकहरुलाई एकैठाउँ ल्याई आर्थिक उन्नति र उद्यमशीलताका विषयमा विचार मन्थन, अनुभव आदान प्रदान र भविष्यको खाका कोर्ने योजना रहेको फिनेका सम्मेलन आयोजक समितिका संयोजक कमल सिलवालले केविसीखबरलाई जानकारी दिए ।

सिलवालका अनुसार सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्घाटन मन्तव्य दिनेछन् भने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, अजर राजभण्डारी, श्रेया गिरी, डा। भोजराज घिमिरे, कागजल नैना राई, कृष्णकुमार श्रेष्ठ, सोयना ढकाल, रन्जु वाग्ले थापा, निकोलस अब्राहम, निशान्त शर्मा, मोती नारल, बरउड सिटी काउन्सिलकी काउन्सिलर सुकीर्ति भट्ट, निरज खनाल, ओम ढुंगेल सविना सिलवाल, स्वेता पौढेल र सूचना पौडेलले आफ्नो प्रस्तुति दिनेछन् । युवा उद्यमशीलताको प्रबद्र्धन, त्यसमा आइपर्ने समस्याहरुको पहिचान र समाधानको उपायको खोजी, भविष्यको युवा उद्यमी नेतृत्व विकास, व्यवसायका लागि एआई र डिजिटल मार्केटिङ लगायतका विषयमा केन्द्रित सामूहिक छलफलहरुबाट निचोड निकाल्ने तयारी छ । संयोजक सिलवालका अनुसार यस सम्मेलनमा सहभागिताले आफ्नै केही उद्यम गर्छु भन्ने सोच राख्नेहरु सबैभन्दा बढी लाभान्वित हुनेछन् । उनीहरुलाई सामूहिक छलफलमा सहभागी गराउँदै उनीहरुले भोग्न परेका समस्याहरुको समाधानका निम्ति विभिन्न क्षेत्रमा सफलता हासिल गरिसकेका युवा नेतृत्वले आफ्नो अनुभव र हालको परिवेशका आधारमा अघि बढ्ने बाटो पहिल्याउन सहयोग गर्नेछन् ।

नेपाल सरकारको तर्फबाट युवा उद्यमशीलताको प्रोत्साहन, विकास र सहकार्यको विषयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले धारणा राख्नेछन् । भर्चुअल माध्यमबाट जोडिएर अर्थमन्त्री वाग्लेले नेपालको आर्थिक रुपान्तरण, उद्यमशीलता, नवप्रबद्र्धन, लगानीको वातावरण, प्रवासी नेपालीको योगदान तथा विश्वव्यापी नेपाली व्यवसायिक सञ्जालको सम्भावनामाथि केन्द्रित हुने अपेक्षा छ ।

फिने अष्ट्रेलियाको आयोजनामा भएको कार्यक्रमले ४ सय भन्दा बढी उद्यमी वा उद्यमशीलताको सोच भएका युवाहरुलाई एकै ठाउँ ल्याएर मन्थनमार्फत निष्कर्श निकाल्दै आगामी बाटो तय गर्ने विश्वास अध्यक्ष सुजाता चालिसेले व्यक्त गरिन् । उनले विश्वभर रहेका नेपाली युवा उद्यमी तथा व्यवसायीबीच अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गर्ने आफुहरुको उद्देश्यमा सिड्नीको सम्मेलन कोशेढुंगा बन्ने बताइन् । उनले भनिन् “नेपाल र प्रवासी नेपाली समूदायको व्यापार, लगानी र ज्ञान हस्तान्तरणलाई प्रोत्साहन गर्न र नेपाली उत्पादन, सेवा, प्रतिभा तथा व्यवसायिक क्षमतालाई अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गर्न पनि सम्मेलन महत्वपूर्ण हुनेछ ।”

फिने विश्वका विभिन्न देशमा रहेका नेपाली युवा उद्यमीहरुको अन्तराष्ट्रिय सञ्जाल हो । संस्थाले उद्यमीहरुलाई सहकार्य, मार्गनिर्देशन व्यापार तथा लगानीका अवसर, अन्तर्राष्ट्रिय सम्पर्क र क्षमता विकासका कार्यक्रममार्फत सहयोग गर्दै आएको छ ।