नेप्लीज एशोसिएसन भिक्टोरियाको चुनाव, सुदीप श्रेष्ठ बने अध्यक्ष

नेप्लीज एशोसिएसन भिक्टोरियाको चुनाव, सुदीप श्रेष्ठ बने अध्यक्ष


 मेलबर्न, अष्ट्रेलिया ।

भिक्टोरियामा रहेका नेपालीहरुको पुरानो संस्था नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभको नयाँ कार्यसमिति चयन गरिएको छ । निर्वाचनको कार्यतालिका बमोजिम एक पदमा एकमात्र उम्मेद्वारी परेपछि सबै पदमा निर्विरोध निर्वाचित घोषणा गर्दै चुनाव सम्पन्न भएको निर्वाचन संयोजक हेम दुलालले जानकारी दिएका छन् । उनका अनुसार सबै दर्ता भएका सदस्यहरुलाई तालिका बमोजिम उम्मेद्वारी, उम्मेद्वारी उपर दावी विरोध, उम्मेद्वारी फिर्ताको अवसर दिँदा पनि कुनै उजुरी नपरेको र एक पदमा एकमात्र उम्मेद्वारी परेपछि निर्विरोध गरिएको हो । 

आगामी कार्यकालका लागि अहिलेका उपाध्यक्ष सुदिप श्रेष्ठले अध्यक्षको रुपमा नेतृत्व सम्हाल्नेछन् । यस्तै उपाध्यक्षमा तेजबहादुर कार्की, कृष्ण चालिसे, जेनिसा गौतम, प्रदिप पाण्डे, सरोजा श्रेष्ठ र राजीव वाग्ले रहेका छन् । यस्तै सचिवमा पवन खतिवडा, कोषाध्यक्षमा यज्ञ जोशी, कार्यसमिति सदस्यहरुमा शवनम आचार्य सिग्देल, सुरज भण्डारी, गोविन्द पौडेल, कमला भट्टराई, गीता अधिकारी, सविना अधिकारी सापकोटा, शिशिर अम्गाई र विजय उप्रेति छन् । 

नयाँ कार्यसमितिलाई वर्तमान अध्यक्ष एकिन्द्र तिमल्सिनाले संस्थानको गौरवमय शाखलाई कायम राख्दै समूदायलाई एकताबद्ध बनाउने अभियानमा लाग्न आह्वान गरेका छन् । 

सिड्नीपछि सबैभन्दा धेरै नेपालीको बसोबास भएको भिक्टोरिया राज्यमा ५० हजारभन्दा बढी नेपाली बसोबास गरेको अनुमान छ । तर, न्याभको सदस्यता लिनेको संख्या भने जम्मा ४ सय ५९ जना रहेको छ । सदस्य रहेकाहरु पनि कतिपय अन्य राज्यमा बसोबास गरेका पनि भएको पाइएको छ ।