एडिलेडमा दीप श्रेष्ठ र रामकृष्ण ढकालको ‘स्वर्णिम सांगीतिक साँझ’ हुँदै

एडिलेडमा दीप श्रेष्ठ र रामकृष्ण ढकालको ‘स्वर्णिम सांगीतिक साँझ’ हुँदै


एडिलेड — नेपाली सङ्गीतका दुई चर्चित तथा लोकप्रिय गायक दीप श्रेष्ठ र रामकृष्ण ढकाल आगामी ३१ जुलाई २०२६, शुक्रबार एडिलेडमा एउटै मञ्चमा प्रस्तुत हुने भएका छन्।

सारङ्गी इभेन्ट्सको आयोजना तथा केन्टफोर्ड इन्स्टिच्युट र एक्सपर्ट एजुकेसन एन्ड भिसाको प्रस्तुतिमा आयोजना हुने ‘दीप श्रेष्ठ एवं रामकृष्ण ढकाल – स्वर्णिम सांगीतिक साँझ’ प्लिम्पटन पार्कस्थित एभरेस्ट रेस्टुरेन्ट एन्ड इभेन्ट सेन्टरमा साँझ ६ बजेदेखि सुरु हुनेछ।

कार्यक्रममा पाँच दशकभन्दा लामो समयदेखि नेपाली सङ्गीतमा सक्रिय रहेका सदाबहार गायक दीप श्रेष्ठले ‘म त दूरदेखि आएँ’, ‘म पत्थरको देवता होइन’, ‘झस्किएको छ मन मेरो’, ‘बितेका कुराले’ लगायतका आफ्ना कालजयी गीतहरू प्रत्यक्ष रूपमा प्रस्तुत गर्नेछन्।

उहाँको प्रस्तुतिमा गिटारवादक विक्रम कार्की र तबलावादक शम्भु बनियाँसहितको सांगीतिक टोलीले साथ दिनेछ।

त्यसैगरी, आधुनिक नेपाली सङ्गीतका लोकप्रिय गायक रामकृष्ण ढकालले ‘ओराली लागेको हरिणको चाल भो’, ‘बाँचुन्जेललाई’, ‘प्रियसीका यादहरू’ लगायतका आफ्ना चर्चित गीतहरूमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।

सारङ्गी इभेन्ट्सका निर्देशक हेम श्रेष्ठले नेपाली सङ्गीतका दुई पुस्ताका प्रतिनिधि तथा दुई लोकप्रिय कलाकारलाई एउटै मञ्चमा प्रस्तुत गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो।

उहाँले एडिलेडवासी नेपाली समुदायका लागि यो कार्यक्रम अविस्मरणीय सांगीतिक साँझ बन्ने विश्वास व्यक्त गर्नुभयो।

आयोजकका अनुसार कार्यक्रमस्थलको क्षमताअनुसार सीमित सिट मात्र उपलब्ध रहने भएकाले दर्शकलाई समयमै टिकट सुरक्षित गर्न आग्रह गरिएको छ। टिकट बिक्री चाँडै सुरु गरिने निर्देशक हेम श्रेष्ठले जानकारी दिनुभयो।

यसैबीच, दीप श्रेष्ठ र उहाँको सांगीतिक टोलीले एडिलेडपछि अष्ट्रेलियाका विभिन्न राज्य तथा सहरहरूमा पनि सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। यस सांगीतिक यात्राअन्तर्गत विभिन्न स्थानमा रहेका नेपाली समुदायले दीप श्रेष्ठका कालजयी गीतहरू प्रत्यक्ष रूपमा सुन्ने अवसर प्राप्त गर्नेछन्।

नेपाली सङ्गीतका दुई कालजयी स्वरलाई एउटै मञ्चमा प्रत्यक्ष सुन्न पाउने दुर्लभ अवसर भएकाले कार्यक्रममा उल्लेखनीय दर्शक सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।