बुटवल । रुपन्देहीको बुटवलमा एक पसलमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जना पक्राउ परेका छन् ।
स्थानीय वडानम्बर १३ जितगढीस्थित वालकुमारी घर्ति मगरको दुईवटा कोठा भाडामा लिई नक्कली नोट छाप्ने कार्य हुने गरेको थियो ।
पक्राउ पर्नेमा जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका ११ की ३६ वर्षीया गंगाकुमारी पूर्वछाने, जिल्ला कास्की पोखरा महानगरपालिका १ का किरण कृष्ण तिवारी जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका १ का संजय थारु, जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका १ का ४१ वर्षीय रामचन्द्र खत्री, जिल्ला दोलखा शैलुङ गाउँपालिका ४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारत पश्चिम बंगाल, सिलिगुडी भक्तिनगर थाना घर भएका ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन्।
प्रहरीले घर तथा कोठा खानतलासी गर्ने क्रममा एक हजार दरका ६२२ थान नक्कली नेपाली नोट ९जम्मा ६ लाख २२ हजार बराबर०, फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागजको एक कार्टुन, लेमिनेसन मेसिन, विभिन्न केमिकल, प्लास्टिक पेपर, नक्कली नोट काट्ने मेसिन तथा ६ थान मोबाइल फोन बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रहरीले अपरेशन चार्ली नाम दिएर गरेको अनुसन्धानमा नक्कली नोट छाप्ने गिरोहलाई पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया