नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको ठगी प्रकरणमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
सीआईबीका अनुसार नेपाल बाल संगठन तथा बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रहरी प्रतिवेदनका आधारमा दर्ता भएको ठगी मुद्दाको अनुसन्धानका क्रममा बाल मन्दिरबाट अनियमित रूपमा रकम लिई ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा नेपाल बाल संगठन, केन्द्रीय कार्यालय बाल मन्दिर, नक्सालकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, नेपाल बाल संगठन जिल्ला कार्य समिति ललितपुरका तत्कालीन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य तथा नेपाल बाल संगठन जिल्ला कार्य समिति काठमाडौंका तत्कालीन सचिव ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन् ।
सीआईबीका अनुसार काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई असार २४ गते विभिन्न स्थानबाट पक्राउ गरिएको हो । अदालतबाट म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया